सिरहामा कुटपिट घटनाका पीडित र आफन्तमाथि प्रहरीबाटै दुर्व्यवहार

गोलबजारस्थित इलाका प्रहरी कार्यालय परिसरमा प्रहरीले पीडितलाई दुर्व्यवहार गरेको हो ।

असार २५, २०८३

विनय आजाद

Victims and relatives of assault incident in Siraha mistreated by police themselves

What you should know

सिरहा — सिरहामा कुटपिट घटनाका पीडितले आफूले दिएको उजुरीमाथि सुनुवाइ नभएको विषयमा गुनासो गर्दा प्रहरीबाटै दुर्व्यवहार भोग्नु परेको गुनासो गरेका छन् । 

गोलबजारस्थित इलाका प्रहरी कार्यालय परिसरमा प्रहरीले पीडितलाई दुर्व्यवहार गरेको हो । गोलबजार नगरपालिका-११ मा दुई महिनाअघि बाख्राको विषयमा स्थानीय समसाद लहेरी र रुबो खातुनबीच झगडा भएको थियो । त्यसक्रममा रुबोका छोरा कैस खातुनको कुटपिटबाट समसाद पनि घाइते भए भने उनकी श्रीमती जरिना खातुनको औंला भाँचिएको थियो ।

जरिनाको स्थानीय अस्पतालमा उपचारपछि विराटनगरस्थित न्यूरो अस्पतालमा शल्यक्रिया गरी स्टिल राखिएको थियो । सोही विषयमा समसादले प्रहरीमा उजुरी दिएका थिए । उनीहरूबीच यसअघि पनि छलफल भएकोमा उपचार खर्चको विषयलाई लिएर विवाद मिल्न सकेन ।

पछिल्लो समय रुबो पक्ष प्रहरीमा छलफलमा आउनै छाडेका थिए । आजका लागि पनि दुवै पक्षलाई प्रहरीमा छलफलमा डाकिएको थियो । पीडित पक्ष प्रहरीमा पुगे पनि पीडक पक्ष नआएपछि प्रहरीसमक्ष उनीहरूले गम्भीरतापूर्वक किन नलिएको भन्दै गुनासो गरेका थिए । सोही क्रममा प्रहरी र पीडित पक्षबीच भनाभन भएको थियो । प्रहरीले त्यसक्रममा पीडितलाई धकेल्दै र अपशब्द प्रयोग गरी कार्यालयबाट निकालेको फोटो, भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । 

आफूहरू बोलाइएको दिन पटकपटक प्रहरीमा पुगे पनि पीडक उपस्थित नहुने, प्रहरीले पनि टार्ने कुरा मात्रै गरेपछि गुनासो गरेको समसाद बताउँछन् । 'हामी पटकपटक प्रहरीमा जान्छौं, तर विपक्षी आउँदैनन्, प्रहरी पीडकसँगै मिलेकोजस्तो कुरा गर्छन्, थर्काउँछन्,' उनले कान्तिपुरसित भने, 'आज गुनासो पोख्दा प्रहरीले उल्टै दुर्व्यवहार गरे ।'

यस क्रममा प्रहरीले समसादका भतिजो अफ्ताव लहेरीलाई केही समयसम्म नियन्त्रणमा पनि लिएको थियो । 

गोलबजारका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुदन केसीले भने उनीहरूले प्रहरी कार्यालयभित्र भिडियो खिच्न थालेपछि प्रहरीले रोक्दा विवाद भएको दाबी गरे ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully