डिभिजन सडकले वीरगन्जको मुख्य सडक क्षेत्रका करिब १०० भवन हटायो 

सडक डिभिजन हेटौँडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले सडक मापदण्डभित्र परेका करिब १०० भवन संरचना डोजरले हटाइसकेको जानकारी दिएका छन् ।

असार २४, २०८३

शंकर आचार्य

The Division Road Office has removed about 100 buildings from the main road area of Birgunj

What you should know

पर्सा — सडक विभागले वीरगन्ज महानगरपालिकाको मुख्य सडक विस्तारको क्रममा पछिल्लो ६ दिनमा एक सय भवन संरचनामा डोजर लगाएको छ ।

शुक्रबारबाट भवन संरचना हटाउन सुरु गरेकोमा बुधबार घण्टाघर नजिकको नेपाली सेनाको ब्यारेकसम्म पुगेको छ । सडक डिभिजन हेटौँडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले सडक मापदण्डभित्र परेका करिब १०० भवन संरचना डोजरले हटाइसकेको जानकारी दिएका छन् ।

उनले बुधबार पनि ७ वटा डोजर एक साथ चलाइएको बताए । बढी डोजर परिचालन हुँदा कामले गति लिएको उनले बताए । ब्यारेकदेखि दक्षिणतर्फ घण्टाघरहुँदै मुख्य बजार क्षेत्रमा प्रवेश गर्न सडकको साँघुरो अवस्था तथा बिजुलीका पोलको कारण समस्या हुने भएकाले बिहीबारदेखि मितेरी पुलतर्फबाट काम थाल्ने योजना रहेको प्रसाद बताउँछन् ।

घण्टाघरदेखि दक्षिणतर्फ अघि बढ्दा बिजुलीको पोलको लाइन काटनु पर्ने हुँदा धेरैलाई समस्या हुने भएकाले त्यसो नगरिएको उनले बताए । यस सम्बन्धमा विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रसँग समन्वय गरे आर्थिक वर्षको समाप्तिपछि घण्टाघरदेखि दक्षिणतर्फ अवरोध हटाउने उनले बताए ।

यस सम्बन्धमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको कार्यकक्षमा बुधबार साँझ सरोकारवालाहरूको बैठक बसेको उनले बताए ।

गत ६ र ७ वैशाखमा सडक विभागले पहिलो चरणमा मुख्य सडक क्षेत्रका करिब १२ सय घर तथा भवनमा डोजर चलाएको थियो । त्यसक्रममा अधिकांश संरचनाको अगाडिको भाग भत्काइएको थियो भने सडक सीमा क्षेत्रमा परेका संरचना २५ दिनभित्र आफैं हटाउन सम्बन्धित धनीलाई आग्रह गरिएको थियो । तर समयसीमा सकिँदासमेत धेरै संरचना यथावत् रहेपछि विभागले दोस्रो चरणको अभियान अघि बढाएको हो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully