जग्गाको विवादमा चक्कु प्रहारबाट एकजनाको मृत्यु

चक्कु प्रहारबाट बुटनको पछाडी पिठ्यूमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो ।

असार २४, २०८३

शिव पुरी

One killed in stabbing over land dispute

रौतहट — रौतहटको ईशनाथ नगरपालिकास्थित औरैया गाउँमा जग्गाको विषयमा विवाद हुँदा चक्कु प्रहारबाट मंगलबार राति एकजनाको हत्या भएको छ । अर्का एकजना घाइते छन् । हत्याको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरीका कार्यालयका अनुसार ईहशनाथ–३ स्थित औरैया गाउँका स्थानीय रामबहादुर साह, उनका ज्वाइँ बुटन साह र छिमेकी रामऔतार साह, उनका छोरा रामेश्वर साहबीच जग्गाको विषयलाई लिएर चर्को विवाद भएको थियो । 

विवाद चर्किँदै गएपछि रामेश्वरले बुटन साहमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट बुटनको पछाडी पिठ्यूमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । 

उपचारकै क्रममा राति करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमले बताए । डिएसपी गौतमका अनुसार घट्नामा रामबहादुरको टाउकोमा समेत चोट लागेको छ । 

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटनालगत्तै प्रहरीको टोली घट्नास्थल पुगेर चक्कु प्रहारमा संलग्न रामेश्वर साह र रामऔतार साहलाई पक्राउ गरेको छ । दुवै बुवा–छोरा हुन् । डिएसपी गौतमले घट्नाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully