रक्सौल-वीरगन्ज नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी पक्राउ

पक्राउ पर्ने २७ वर्षीय एमडी शियाम हुसैन बंगलादेशको मुन्सिगञ्ज जिल्लाका बासिन्दा हुन् । उनीसँग भेटिएको बंगलादेशी राहदानीबाट उनको नागरिकता पुष्टि भएको छ ।

असार २४, २०८३

शंकर आचार्य

Bangladeshi arrested while attempting to enter Nepal through the Raxaul-Birgunj border

What you should know

पर्सा — भारत–नेपाल सीमाअन्तर्गत रक्सौलस्थित मैत्री पुलबाट नेपाल प्रवेश गर्न खोजेका एक बंगलादेशी नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ । 

मंगलबार राति नियमित गस्ती तथा कागजात जाँचका क्रममा पक्राउ परेकालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भारतको हरैया प्रहरीको जिम्मा लगाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पक्राउ पर्ने २७ वर्षीय एमडी शियाम हुसैन बंगलादेशको मुन्सिगञ्ज जिल्लाका बासिन्दा हुन् । उनीसँग भेटिएको बंगलादेशी राहदानीबाट उनको नागरिकता पुष्टि भएको छ । राहदानीका अनुसार उनको जन्म सन् १९९८ अगस्ट २२ मा भएको हो भने उक्त राहदानी २०२० डिसेम्बर ८ मा जारी भई २०३० डिसेम्बर ७ सम्मका लागि वैध रहेको छ ।

भारतबाट नेपाल प्रवेश गर्न खोजिरहेका बेला उनको गतिविधि शंकास्पद देखिएपछि मैत्री पुलमै रोकी कागजात जाँच गरिएको थियो । प्रारम्भिक सोधपुछका क्रममा उनले आफूलाई हिन्दु नामबाट परिचय गराएर सुरक्षा निकायलाई झुक्याउने प्रयास पनि गरेका थिए ।

सोधपुछका क्रममा उनीसँग भारत प्रवेशका लागि आवश्यक वैध भिसा वा अन्य कानुनी कागजात नभएको खुलेको छ । भारतीय सुरक्षा निकायले उनको मोबाइल फोन, यात्रा मार्ग, नेपाल आउनुको उद्देश्य, भारत र नेपालमा रहेका सम्भावित सम्पर्क तथा यसअघि पनि सीमा क्षेत्रमा आवतजावत गरेको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

उनी वैध अनुमतिबिना भारतमा कसरी बसिरहेका थिए, नेपाल प्रवेशको उद्देश्य के थियो र यसमा कुनै संगठित सञ्जालको संलग्नता छ वा छैन भन्ने विषयमा भारतीय प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully