अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजित मेलामा २५ भन्दा बढी कम्पनीले भाग लिँदै ५ सय युवाहरूसँग प्रारम्भिक अन्तर्वार्ता र आवेदन संकलन गरेका छन्।
What you should know
पर्सा — वीरगञ्जमा आइतबार आयोजित बृहत् रोजगार मेलामा ५ सयभन्दा बढी युवा–युवतीले सहभागीता जनाएका छन्। अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ, महासंघ मधेश प्रदेश र वीरगञ्ज उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा आयोजना गरेको मेलामा २५ भन्दा बढी कम्पनी तथा संस्थाको सहभागिता रहेको थियो।
होटल भिष्वामा आयोजित मेलाको उद्घाटन मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश कुमार पटेलले गरेका थिए। मन्त्री पटेलले बेरोजगार युवा–युवतीलाई रोजगारीसँग जोड्न, उनीहरूको सीप र क्षमताको सदुपयोग गर्न तथा निजी क्षेत्रसँगको सहकार्यलाई सुदृढ बनाउन यस्ता रोजगार मेला प्रभावकारी माध्यम बन्ने बताए। उनले रोजगारी प्रवर्द्धन, उद्यमशीलता विकास र निजी क्षेत्रसँगको साझेदारीलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले रोजगारदातासँग रोजगारी खोज्ने युवाको प्रत्यक्ष सम्पर्क स्थापित गराउने यस्ता कार्यक्रमले दक्ष जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने बताए। रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउन सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले रोजगार मेला रोजगारदाता र रोजगारी खोज्नेबीचको भेटघाटमा मात्र सीमित नरही उद्योग–व्यवसाय र दक्ष जनशक्तिबीच प्रभावकारी सेतु बनेको बताए। उद्योग तथा श्रम बजारको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा यस्ता कार्यक्रम उपयोगी हुने उनको धारणा थियो।
रोजगार मेला संयोजक अनुप अग्रवालले रोजगारदाता र रोजगारी खोज्नेबीच सहज सम्पर्क स्थापित गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए। आगामी दिनमा अझ व्यापक र प्रभावकारी रूपमा यस्ता कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए।
मेलामा सहभागी २५ भन्दा बढी कम्पनी तथा संस्थाले आफ्ना रिक्त पदका लागि आवेदन संकलन गर्नुका साथै प्रारम्भिक अन्तर्वार्ता र योग्य जनशक्ति छनोटको प्रक्रिया अघि बढाएका थिए। सहभागी ५ सयभन्दा बढी युवा–युवतीले आफ्नो योग्यता, अनुभव र रुचिअनुसार विभिन्न कम्पनीमा आवेदन दिएको तथा रोजगारदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाएका आयोजकले जनाएको छ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका, नेपाली युवा उद्यमी मञ्च (वीरगञ्ज च्याप्टर), एचआर सोसाइटी, आईएलओ, नेपाल उद्योग वाणिज्य महासंघ तथा विभिन्न निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष माधव राजपालले धन्यवाद ज्ञापन गरेका थिए ।
