सिरहाबाट वन अधिकृत घुससहित पक्राउ

अख्तियारले सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख रामकेवल राय यादवलाई घुससहित पक्राउ गरेको हो ।

असार २३, २०८३

विनय आजाद

Forest officer arrested with bribe from Siraha

सिरहा — अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासले सिरहाबाट एक वन अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख रामकेवल राय यादवलाई घुससहित पक्राउ गरेको हो ।

यादवलाई १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कर्जन्हा नगरपालिका- ४ बाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । यादवले कर्जन्हा-२ मा रहेको एक काठ उद्योगका सञ्चालकसँग तीन ट्रक काठ विभिन्न स्थानबाट ल्याएबापत प्रतिट्रक चार हजारका दरले घुस मागेका थिए ।

यस विषयमा सेवाग्राहीले उजुरी गरेपछि अख्तियारले आवश्यक अन्य प्रमाणहरू संकलन गर्दै मंगलबार घुस रकमसहित वन अधिकृत यादवलाई पक्राउ गरेको हो । अहिले अख्तियारको टोली घटनास्थलमै रहेको र मुचुल्कालगायतका काम भइरहेको बर्दिबासस्थित अख्तियारका प्रवक्ता प्रकाश पोखरेलले जानकारी दिए ।

'हाम्रो टोलीले वन अधिकृतलाई नियन्त्रणमा लिइसकेर अहिले मुचुल्कालगायतका कानूनी प्रक्रियाहरू पूरा गर्ने काम गरिरहेको छ,' उनले कान्तिपुरसित भने, 'ती काम भइसकेपछि बर्दिबास ल्याउँछौं ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully