घुस लिएको ३३ हजार ३ सय ५०, स्रोत नखुलेको ४८ हजार ७० रुपैयाँ नगद अख्तियार टोलीले बरामद गरेको छ ।
राजविराज — भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र राजविराजका निमित्त प्रमुखसहित दुई कर्मचारी सोमबार घुस रकम र चेक लिँदै गर्दा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले केन्द्रका निमित्त प्रमुख डा. रामपवित्र दास र उनका सवारी चालक भागेन्द्र यादवलाई पक्राउ गरेको हो ।
सोही केन्द्रका करार भ्याक्सिनेटर पदमा कार्यरत कर्मचारीहरुले काम गरेबापत पाउनुपर्ने पारिश्रमिकबाट २० प्रतिशत ‘कमिसन’ मागेको भनी विशेष सूचनाका आधारमा आयोगबाट टोली खटिएको थियो । प्रहरी नायब उपरीक्षक अनमोल खड्का नेतृत्वको उक्त टोलीले निमित्त प्रमुख डा. दासकै कार्यकक्षमा सवारी चालक यादवले भ्याक्सिनेटरहरुबाट घुस लिएको ३३ हजार ३ सय ५० र अन्य स्रोत नखुलेको ४८ हजार ७० रुपैयाँ गरी कुल ८१ हजार ४ सय २० रुपैयाँ नगद बरामद गरेको हो ।
फरक–फरक रकम उल्लेख भएको ५ थान चेक र दुवै जनाको १–१ थान मोबाइलसमेत बरामद गरिएको आयोगको कर्मचारी स्रोतले जानकारी दियो । घुस र चेकसहित पक्राउ गरिएका निमित्त प्रमुख डा.दास र सवारी चालक यादवमाथि थप अनुसन्धान भइरहेको छ ।
