कारागार सुरक्षामा खटिएका प्रहरी जवान २३ वर्षीय अजयकुमार मेहताले बोकेको राइफलबाट बुधबार राति एक राउण्ड गोली चलेको हो ।
राजविराज — सप्तरी कारागारमा सहकर्मीले बोकेको एसएलआर राइफलबाट गोली चल्दा एक जना प्रहरी जवान गम्भीर घाइते भएका छन् ।
कारागार सुरक्षामा खटिएका प्रहरी जवान २३ वर्षीय अजयकुमार मेहताले बोकेको राइफलबाट बुधबार राति एक राउण्ड गोली चलेको हो । गोली लागेर घाइते भएका २२ वर्षीय प्रहरी जवान विश्वजीत राय यादवलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको कारागार प्रमुख रुपक मण्डलले बताए । उनकाअनुसार दुवै जना प्रहरी जवान अढाई साताअघि मात्रै तालिम सकाएर ‘ड्युटी जोइन’ गरेका थिए ।
नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर धनुषामा दरबन्दी रही काजमा यहाँ खटिएका विश्वजीतको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ । राति करिब साढे १० बजे कम्मरमाथिको भागमा गोली लागेका विश्वजीतलाई उद्धार गरी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो । तर, उनको स्वास्थ्य अवस्था जटिल देखिएपछि चिकित्सकको सल्लाहअनुसार धरान पठाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकार डीएसपी हेमराज घिमिरेले गोली चलेको विषयमा थप अनुसन्धान भइरहेको बताए । ‘मेहताले बोकेको राइफलबाट अचानक गोली फायर भएर पर्खालमा ठोक्किँदै यादवको कम्मर साइडमा लागेको हो,’ उनले भने, ‘डायरेक्ट गोली फायर भएको देखिँदैन । विश्वजीतको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।’
