सभामुखद्वारा बजेट अधिवेशन रहेको र त्यही विषयमा छलफल हुने भएकाले प्रदेशसभाको बैठक अगाडि बढ्न दिन आग्रह ।
What you should know
जनकपुर — आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि १७ दिनपछि मधेश प्रदेशसभामा सुरु भएको छलफल विपक्षी दलको अवरोधपछि स्थगित भएको छ ।
बजेटमाथि छलफल गर्न बुधबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा साढे २ बजे बसेको थियो । सभामुख रामआशिष यादवले बैठक सुरु भएको घोषणा गरेलगत्तै विपक्षी दल जसपा नेपाल र सत्तापक्ष कांग्रेसकै सांसदहरू उभिएका थिए ।
कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले चालु आर्थिक वर्षका विकास योजनामा धेरैजसो काम सम्पन्न भए पनि अर्थ मन्त्रालयले रोक्का गर्दा भुक्तानी हुन नसकेको भन्दै आपत्ति जनाएका थिए । ‘धेरै कामहरू सम्पन्न भइसकेका छन् । तर, ठेकेदारहरूले भुक्तानी पाएका छैनन्,’ कांग्रेसका सचेतक झाले भने, ‘काम सम्पन्न भएको योजनाको भुक्तानी के कारणले रोकिएको हो ? अर्थमन्त्रीजीले जवाफ दिनुपर्छ ।’
यस्तै, जसपा नेपालका सांसद उपेन्द्र महतोले मधेश प्रदेश सरकारको अगामी वर्षको बजेट संघीयताको मर्मअनुसार नरहेको भन्दै बजेट संशोधन नगरेसम्म प्रदेश सभाको बैठक सञ्चालन हुन नदिने बताएका थिए । ‘१ करोडभन्दा मुनिको योजना बजेटमा नसमेटिने भनिएको थियो । तर, ५–१० लाखका योजना पनि हालिएको रहेछ,’ महतोले भने, ‘एउटा जिल्लाका पालिकाहरू गाँभेर बजेट विनियोजन गर्नु त ठिकै हो । तर, एउटै योजनामा एउटा जिल्लामा अर्को जिल्ला नै गाँभिएको छ ।’
सभामुख यादवले बजेट अधिवेशन रहेको र त्यही विषयमा छलफल हुने भएकाले प्रदेशसभाको बैठक अगाडि बढ्न दिन आग्रह गरेका थिए । तर, जसपा नेपालले बजेट संशोधन नै आफूहरूको बटमलाइन रहेको भन्दै अवरोध गरेपछि प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।
