सामान्य वर्षामै सप्तरीमा भासियो हुलाकी सडक  

सप्तरीको विष्णुपुर गाउँपालिका–१ मा सामान्य वर्षाले सडक भासिँदा पुलछेउबाट सवारी आवागमनमा थप समस्या देखिएको छ ।

असार १५, २०८३

विद्यानन्द राम

Postal road in Saptari flooded during normal rains

सप्तरी — सप्तरीमा सामान्य वर्षामै हुलाकी सडक भासिएको छ । दुई दिनअघि भएको वर्षाका कारण ‘रेनकट’ लागेर विष्णुपुर गाउँपालिका–१, खुरहुरिया टोलभन्दा पूर्वतर्फ रहेको पुलछेउमै सडक भासिएको हो ।

कम चौडाइ रहेको उक्त पुलबाट यसअघि नै चारपांग्रे सवारीसाधन एकतर्फी रुपमा आवागमन हुँदै आएको छ । तर, अहिले पुलछेउमै सडक भासिँदा सवारीसाधन आवागमनमा थप समस्या भइरहेको वडाध्यक्ष बलराम यादवले बताए ।

‘सडक भासिँदा अहिले दुर्घटनाको जोखिम बढेकोले हामीले स्थानीयस्तरबाट हुनसक्ने तत्काल सडक मर्मत गर्न तयारी गरिरहेका छौं’ उनले भने, ‘तर, जल तथा मौसम विज्ञान विभागले भोलि र पर्सी यस क्षेत्रमा भारी वर्षा हुने अनुमान गरेकोले ठोस पहलका लागि सम्बद्ध कार्यालयको पनि ध्यान पुग्नु जरुरी छ ।’

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासले राजविराजदेखि पश्चिमतर्फको सडक खण्ड ४ महिनाअघि नै सडक डिभिजन कार्यालय लहानलाई हस्तान्तरण गरिसकेको बताए । ‘अब उक्त सडकको मर्मतसम्भारलगायतका कार्य डिभिजन कार्यालयले नै गर्नेछ, ’ उनले भने ।

सडक डिभिजन कार्यालयका प्रमुख सीडीई ध्रुवकुमार झाले सडकको ‘इर्मेजेन्सी वर्क’ सिल कोटेसनमार्फत गरिने तयारी रहेको बताए । ‘खर्च कम गर्नका लागि हामीले न्यूनतम ७ दिने सूचना प्रकाशन गरेर ती कार्यहरु अघि बढाउछौं,’ उनले भने, ‘रेनकट लागेर सडकमा क्षति पुगेको विवरण हामीले अघि नै संकलन गरिसकेका छौं ।’

जिल्लाको पश्चिमी भेगमा पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतर्फ भारतीय सिमानाआसपास बसोबास गर्ने सर्वसाधारणलाई राजविराजसम्म जोड्ने यस सडकमा दैनिक हजारौं सवारीसाधन गुड्ने गर्छन् ।   

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully