३ महिनादेखि बन्धक बनाइएकी भारतीय किशोरी वीरगन्जबाट उद्धार

भारतको बिहार राज्यको मोतिहारीकी १५ वर्षीया किशोरीलाई सोमबार बिहान पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढवास्थित एक घरबाट उद्धार गरिएको छ।

असार १५, २०८३

शंकर आचार्य

Indian teenager held hostage for 3 months rescued from Birgunj

पर्सा — करिब तीन महिनादेखि बन्धक बनाएर राखिएकी भारतको बिहार राज्यको मोतिहारीकी १५ वर्षीया किशोरीलाई सोमबार बिहान पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढवास्थित एक घरबाट उद्धार गरिएको छ। 

मानव बेचबिखनविरुद्ध काम गर्दै आएको आफन्त नेपाल वीरगन्ज शाखा, स्थानीय बासिन्दा र पर्सा प्रहरीको महिला तथा बालबालिका सेवा शाखाको समन्वयमा किशोरीको उद्धार गरिएको हो।

आफन्त नेपाल वीरगन्ज शाखा प्रमुख मनु रानाका अनुसार किशोरी गत अप्रिल २ मा मोतिहारीबाट रहस्यमय रूपमा हराएकी थिइन्। केही समयपछि उनी वीरगन्जमा रहेको सूचना उनका अभिभावकले पाएपछि भारतको ‘स्वच्छ रक्सौल’ संस्थामार्फत आइतबार आफन्त नेपालमा उद्धारका लागि निवेदन दिएका थिए। ‘त्यही सूचनाका आधारमा पर्सा प्रहरीसँग समन्वय गरी रामगढवाका तीनवटा शंकास्पद घरमा खोजी गर्दा किशोरीलाई सकुशल फेला पार्न सफल भयौं,’रानाले भनिन्।

किशोरीले बताएअनुसार, मोतिहारीकै २३ वर्षीय चन्दनकुमार नामका युवकले विद्यालयबाट घर फर्कंदै गरेकी किशोरीलाई बेहोस बनाउने पदार्थ सुँघाएर अपहरण गरेका थिए। त्यसपछि उनलाई मन्दिरमा लगेर जबर्जस्ती विवाह गराइएको र नेपाल ल्याइएको खुलेको छ।

उक्त युवकले किशोरीलाई करिब डेढ महिना जनकपुरमा राखेपछि वीरगन्ज ल्याएर एउटा कोठामा बन्धक बनाई राखेको अनुसन्धानबाट खुलेको छ। बन्धक अवस्थामै रहेकी किशोरीले जुन २६ मा पहिलो पटक आफ्ना बुवालाई फोन गरी आफू नेपालमा रहेको जानकारी दिएकी थिइन्। त्यसपछि उनका अभिभावक नेपाल आएका थिए।

घटनामा संलग्न भनिएका युवक फरार रहेको प्रहरीले जनाएको छ। उद्धार गरिएकी किशोरीलाई हाल आफन्त नेपालको संरक्षणमा राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully