भटमासको प्रशोधित तेल निर्यातमा अझै अग्रस्थान

यद्यपि गत आर्थिक वर्षको तुलनामा भटमासको निर्यात मूल्यमा भने उल्लेख्य गिरावट आएको छ।

असार १४, २०८३

शंकर आचार्य

Still leading in refined soybean oil exports

पर्सा — मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्जबाट निर्यात हुने वस्तुमध्ये चालु आर्थिक वर्षको जेठ मसान्तसम्म पनि भटमासको प्रशोधित तेल सबैभन्दा बढी निर्यात हुने वस्तु बनेको छ। यद्यपि गत आर्थिक वर्षको तुलनामा यसको निर्यात मूल्यमा उल्लेख्य गिरावट आएको छ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मूल्यका आधारमा निर्यात भएका पाँच प्रमुख वस्तुमा क्रमशः भटमासको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, विभिन्न किसिमका कपडा तथा सेन्थेटिक यार्न रहेका छन्। यी वस्तुले भारतसहित तेस्रो मुलुकतर्फ हुने कुल निर्यातको ठूलो हिस्सा ओगटेका छन्। तर सूर्यमुखीको प्रशोधित तेल र सेन्थेटिक यार्नको निकासी पनि यस बर्ष घटेको छ ।

शीर्ष स्थानमा रहेको भटमासको प्रशोधित तेलको निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २४ प्रतिशतले घटेको छ। गत आर्थिक बर्षको जेठ महिनासम्ममा यो नाका हुँदै ५५ अर्ब २८ करोड रुपैयाँ बराबरको २६ करोड लिटर भटमासको प्रशोधित तेल भारततर्फ निकासी भएको थियो । चालु आवको यस अवधिमा भने ४९ अर्ब ६८ करोड रुपैयाँ बराबरको २३ करोड ६६ लाख लिटर भटमासको प्रशोधित तेल निकासी भएको छ ।

दोस्रो स्थानमा रहेको फलफूलको जुसको निर्यात सबैभन्दा उल्लेख्य रूपमा बढेको छ। यसको निर्यात मूल्य करिब एक अर्ब रुपैयाँभन्दा बढीले वृद्धि हुँदै झण्डै दोब्बर पुगेको छ। गत बर्ष ७ अर्ब २५ करोड रुपैयाँ बराबरको ७ करोड ५७ लाख लिटर जुस निकासी भएको थियो । चालु आवको जेठ महिनासम्ममा ८४ अर्ब ७८ करोड रुपैयाँ बराबरको ५४ करोड लिटर जुस निकासी भएको छ ।

तेश्रो स्थानमा रहेको सूर्यमुखीको प्रशोधित तेलको निकासी यस बर्ष घटेको छ । गत बर्ष ८ अर्ब ४२ करोड रुपैयाँ बराबरको ३ करोड ९० लाख लिटर यो तेल भारततर्फ निकासी भएको थियो । चालु बर्षमा भने ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको ८ करोड १० लाख लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । यसरी यो तेलको निकासी परिमाण बढेपनि यो मूल्यको आधारमा निकासीमा भने व्यापक गिरावट आएको छ ।  

चौथो नम्बरमा रहेको बिभिन्न किसिमका कपडाहरुको निकासी भने मूल्य र परिमाण दुबैले बढेको छ । गत आवको जेठ महिनासम्ममा यो नाका हुँदै २ अर्ब ९४ करोड रुपैयाँ बराबरको ८ करोड ५७ लाख मिटर कपडा निकासी भएको थियो । चालु आवमा भने ३ अर्ब २६ करोड रुपैयाँ बराबरको ८ करोड ७२ लाख मिटर कपडा निकासी भएको छ ।

यस्तै, पाँचौं स्थानमा रहेको सेन्थेटिक यार्नको निर्यात पनि करिब ३० प्रतिशतले खुम्चिएको तथ्यांकले देखाएको छ। गत बर्षको जेठ सम्ममा यो नाका हुँदै ५ अर्ब २४ करोड रुपैयाँ बराबरको ४ करोड ४३ लाख मिटर सेन्थेटिक यार्न निकासी भएको थियो । यस बर्ष भने २ अर्ब १९ करोड रुपैयाँ बराबरको ८२ लाख १८ हजार मिटर मात्र सेन्थेटिक यार्न निकासी भएको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम अन्तर्राष्ट्रिय बजारको माग, कच्चा पदार्थको उपलब्धता, उत्पादन लागत तथा व्यापारिक वातावरणका कारण केही वस्तुको निर्यातमा कमी आए पनि प्रशोधित कृषि तथा औद्योगिक उत्पादनले निर्यात सूचीमा आफ्नो वर्चस्व कायम राख्नु सकारात्मक रहेको बताउँछन् । उनले तथ्यांकले नेपालको निर्यात अझै सीमित वस्तुमै केन्द्रित रहेको देखाएको बताए । निर्यात वृद्धि दिगो बनाउन नयाँ उत्पादनको प्रवर्द्धन, मूल्य अभिवृद्धि तथा बजार विविधीकरण आवश्यक रहेको उनको भनाइ छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully