वीरगन्जका सफाइकर्मी आन्दोलनमा, सडकमै फोहोर थुपारेर विरोध

आन्दोलन लम्बिए वीरगन्जको सरसफाइ व्यवस्थापन थप प्रभावित हुने सम्भावना देखिएको छ।

असार १४, २०८३

शंकर आचार्य

Birgunj sanitation workers protest by piling garbage on the road

वीरगन्ज — वीरगन्ज महानगरपालिकाले सरसफाइ व्यवस्थापनको जिम्मा दिएको ठेकेदार कम्पनीका सफाइकर्मीले तलब वृद्धिलगायतका विभिन्न माग राख्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन्। आन्दोलनका क्रममा उनीहरूले घण्टाघर चोक, मीना बजार क्षेत्र तथा महानगरपालिकाको मूल प्रवेशद्वार अगाडि फोहोर थुपारेर विरोध जनाएका हुन्।

 आन्दोलनका कारण नगरको नियमित सरसफाइ सेवा प्रभावित हुने संकेत देखिएपछि महानगरपालिकाले समस्या समाधानका लागि पहल थालेको छ। महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले सरसफाइ व्यवस्थापनको अवस्थाबारे विशेष निगरानी भइरहेको जनाउँदै ठेक्का लिएका ठेकेदार शिव गुप्तालाई आन्दोलनरत सरसफाइकर्मीको जायज मागबारे तत्काल छलफल गरी यथाशीघ्र समाधानको पहल गर्न निर्देशन दिएका छन्।

Birgunj sanitation workers protest by piling garbage on the road

कार्यवाहक नगरप्रमुख आलमले नगरवासीले सरसफाइ सेवामा कुनै असहजता भोग्न नपरोस् भन्ने उद्देश्यले महानगरपालिकाले आवश्यक समन्वय र सहजीकरण गरिरहेको बताए। उनका अनुसार सरोकारवाला पक्षबीच संवादमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको छ।

उनले सरसफाइ सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिने महानगरपालिकाको प्रतिबद्धता दोहोर्‍याउँदै सफाइकर्मी, ठेकेदार कम्पनी र सम्बन्धित पक्षबीच सहमति कायम गरी आन्दोलनको शीघ्र समाधान निकाल्ने प्रयास जारी रहेको जानकारी दिए। 

सफाइकर्मीहरूले भने तलब वृद्धि, सेवा–सुविधा तथा श्रम अधिकारसँग सम्बन्धित माग पूरा नभएसम्म आन्दोलन जारी रहने संकेत दिएका छन्। आन्दोलन लम्बिए वीरगन्जको सरसफाइ व्यवस्थापन थप प्रभावित हुने सम्भावना देखिएको छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully