मनसुन कमजोर हुँदा सिँचाइ सुविधा भएका क्षेत्रबाहेक पर्साका किसानले धान रोप्न सकेका छैनन् ।
What you should know
पर्सा — पर्याप्त मनसुनी वर्षा नहुँदा पर्सामा हालसम्म जम्मा ४ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। देशकै अन्न भण्डार मानिने मधेश प्रदेशको पर्सामा रोपाइँको गति सुस्त बनेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरका अनुसार हालसम्म जिल्लाका किसानले करिब ४ प्रतिशत क्षेत्रमा मात्रै धान रोप्न सकेका छन्।
उनका अनुसार ठोरी गाउँपालिका र पर्सागढी नगरपालिकामा कुलो तथा अन्य सिँचाइ सुविधा भएकाले तुलनात्मक रूपमा बढी रोपाइँ भएको छ। ‘सिँचाइ सुविधा भएका क्षेत्रमा किसानले असारे धान रोपेका छन्,’ उनले भने, ‘अन्य अधिकांश स्थानमा किसानले अझै धानको बेर्ना तयार गर्ने काम गरिरहेका छन्।’
यस वर्ष पर्सामा करिब ४० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने अनुमान गरिएको छ। गत वर्ष पनि करिब यही क्षेत्रफलमा धान खेती गरिएको थियो।
जिल्लाका १४ वटै स्थानीय तहमा धान मुख्य खाद्यान्न बालीका रूपमा उत्पादन हुँदै आएको छ। जिल्लाको उत्तरी तथा पश्चिमी भेगमा प्राकृतिक खोला–नालाबाट कुलोमार्फत सिँचाइ गर्ने व्यवस्था रहेकाले त्यहाँ रोपाइँ केही अघि बढेको छ। तर जिल्लाका अधिकांश क्षेत्र अझै पनि वर्षामा निर्भर रहेकाले पर्याप्त मनसुनी वर्षा नभएसम्म रोपाइँले गति लिन सकेको छैन।
जिल्लाको मध्यभाग हुँदै बग्ने गण्डक नहरले केही क्षेत्रमा सिँचाइको सुविधा उपलब्ध गराए पनि समग्र जिल्लाका लागि त्यो पर्याप्त छैन। यही कारण पहाडी जिल्लामा असार १५ देखि सुरु हुने रोपाइँ पर्सामा भने साउन अन्तिमसम्म र कतिपय स्थानमा भदौ पहिलो सातासम्म पनि जारी रहने गरेको छ।
