सिरहामा कारको ठक्करले एक जनाको मृत्यु

उद्धारमा खटिरहेकालाई ठक्कर दिँदै अर्को गाडीले चालकलाई लिएर भाग्यो

असार ११, २०८३

विनय आजाद

One person dies in car accident in Siraha

What you should know

सिरहा — सिरहामा कारको ठक्करबाट गएराति एक जनाको ज्यान गएको छ । मिर्चैया नगरपालिका-८ भगवतपुरमा बुधबार मध्यरातमा कारले ठक्कर दिँदा स्थानीय ५० वर्षीय गुनाई ठाकुरको ज्यान गएको हो ।

प्रहरीका अनुसार, गर्मी भएर घरअगाडि पोल छेउमा कुर्सीमा बसिरहेका गुनाईलाई राति करिब साढे ११ बजेको समयमा अत्यधिक गतिमा आएको बागमती प्रदेश ०१-०२५ च ८९७१ नम्बरको इभी कार अनियन्त्रित भई ठक्कर दिएको थियो । त्यसपछि पोलमा ठोक्किँदै कार नालामा खसेको थियो ।

घटनालगत्तै त्यहाँ जम्मा भएका स्थानीयहरूले गुनाईलाई एम्बेलुन्समा हालेर अस्पताल पठाउने तयारी गरिरहेकै बेला फेरि अर्को पिकअप गाडी आउँछ, त्यसले उद्धारमा खटिएका अन्य स्थानीयहरूलाई पनि ठक्कर दिँदै कारको चालकलाई लिएर भाग्छ ।

त्यसक्रममा गुनाईसँगै वर्ष ३९ का स्थानीय रामपुकार ठाकुर, ३२ वर्षीया सुभली कुमारी यादव, एक १० वर्षीय र एक ६ वर्षीय बालक गरी पाँच जना तथा अन्य केही स्थानीयलाई पनि चोट लागेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । जसमध्ये गुनाईको उपचारका विराटनगर लगिरहेकै बेला बाटोमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार, अन्य घाइतेमध्ये रामपुकारको काठमाडौंस्थित एक अस्पतालमा उपचार भइरहेको छ भने अन्यको मिर्चैयाका अस्पतालहरूमा उपचार भइरहेको छ । प्रहरीले कारलाई घटनास्थलबाटै र पिककपलाई मिर्चैया-७ स्थित छघरेबाट बिहीबार बिहान नियन्त्रणमा लिइसकेको छ । 

ती गाडीहरूबाट कपडा, कागजातसँगै मदिराहरू पनि बरामद भएको छ । यसमा संलग्न भनिएका मिर्चैया-७ का रामकुमार यादव, मिर्चैया-८ का मनोज झालगायतको खोजीकार्य तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully