खडक नगरपालिकामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहँदा बाँकी १७ वटा स्थानीय तहले निर्धारित समयभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् ।
What you should know
राजविराज — सप्तरीमा खडक नगरपालिकाबाहेक सबै स्थानीय तहले तोकिएको समयभित्रै आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ७१ बमोजिम आगामी आर्थिक वर्षको अनुमानित बजेट असार १० भित्र नगर/गाउँ सभामा पेस गर्नुपर्ने प्रावधान छ । त्यसरी पेस गरिएको बजेट असारभित्र सभाबाट पारित गर्नुपर्ने छ । सोहीअनुसार यहाँका १८ मध्ये १७ वटा स्थानीय तहले समयभित्रै बजेट ल्याएका हुन् ।
यहाँ सबैभन्दा पहिला रुपनी गाउँपालिका, दोस्रोमा सुरुङ्गा नगरपालिका र तेस्रोमा विष्णुपुर गाउँपालिकाले बजेट ल्याएका छन् । असार ५ मा ६७ करोड ९३ लाख ९३ हजार बराबरको बजेट ल्याएको रुपनीले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी अभिवृद्धि, गरिबी न्यूनीकरण, दीगो विकास, पर्यावरण संरक्षण तथा सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ ।
सुरुङ्गाले असार ६ मा ८९ करोड १० लाख ८० हजार बराबरको बजेट ल्याएको छ । त्यहाँ शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाइ, पूर्वाधार विकास, महिला सशक्तीकरण, रोजगार तथा उद्यमशीलता विकास, सामाजिक सुरक्षा र सुशासनमा जोड दिएको छ । त्यसको भोलिपल्ट असार ७ मा कुल ३९ करोड ५९ लाख ३३ हजारको बजेट ल्याएको विष्णुपुरले पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारीलाई प्राथमिकतामा राखेको छ ।
असार ८ मा बोदे बरसाईन नगरपालिका र राजगढ गाउँपालिकाले बजेट ल्याएका हुन् । बोदे बरसाईनले ८६ करोड २७ लाख ७० हजार बराबरको बजेट ल्याउँदा स्वास्थ्य, शिक्षा, कृषि र पशु विकासमा जोड दिएको छ । राजगढले ३८ करोड ४८ लाख ३३ हजार बराबरको बजेट ल्याएको छ । त्यस बजेटमा कृषि, सिँचाइ, उद्योग र वाणिज्य, पर्यटन, रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी र संस्कृति प्रवद्र्धनलाई प्राथमिकता दिएको छ ।
असार ९ मा डाक्नेश्वरी नगरपालिकाले ८१ करोड ७० लाख ७५ हजार बराबरको बजेट ल्याउँदा असार १० मा राजविराज, शम्भुनाथ, कञ्चनरुप र सप्तकोशी नगरपालिका तथा बलान बिहुल र अग्नीसाइर कृष्णसवरण गाउँपालिकाले बजेट ल्याएका छन् । राजविराजले १ अर्ब १५ करोड ४२ लाख ५९ हजार, शम्भुनाथले ९२ करोड ४० लाख ८२ हजार, कञ्चनरुपले ६९ करोड २४ लाख ३९ हजार ७ सय र सप्तकोशीले ४६ करोड १० लाख ६२ हजार ६ सय ८२ रुपैयाँ बराबरको बजेट ल्याएका छन्।
हनुमाननगर कंकालिनी नगरपालिकाले ६४ करोड ८ लाख ५० हजार, बलान बिहुलले ५२ करोड र अग्नीसाइर कृष्णसवरणले ४७ करोड ३७ लाख ४६ हजार बराबरको बजेट ल्याएका छन् । छिन्नमस्ताले ३४ करोड ९४ लाख ३३ हजार, तिरहुतले ३८ करोड ७८ लाख ४४ हजार, तिलाठी कोइलाडीले ४३ करोड ३६ लाख ४४ हजार र महादेवा गाउँपालिकाले ४२ करोड ३० लाख ५० हजार बराबरको बजेट ल्याएका छन् ।
यहाँका खडक नगरपालिकामा नीति तथा कार्यक्रममा छलफल भइरहे पनि बजेट प्रस्तुत गर्न सकेको छैन् । नगरपालिकाका सूचना अधिकारी मनोजकुमार साहले बजेट पूर्ण रुपमा तयार हुन बाँकी रहेको बताए ।
