लहान नगरपालिकाको बजेट १ अर्ब ३८ करोड

नगरपालिकाले मंगलबार १९औं नगरसभाबाट १ अर्ब ३८ करोड ७५ लाख १० हजार ५७६ रुपैयाँ ३७ पैसाको बजेट सार्वजनिक गरेको हो ।

असार १०, २०८३

विनय आजाद

Lahan Municipality's budget is 1.38 billion rupees

What you should know

सिरहा — लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ३८ करोड बढीको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले मंगलबार १९औं नगरसभाबाट १ अर्ब ३८ करोड ७५ लाख १० हजार ५७६ रुपैयाँ ३७ पैसाको बजेट सार्वजनिक गरेको हो ।

नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीका अनुसार, नगरपालिकाको चालु खर्चतर्फ ३४ करोड ८० लाख रुपैयाँ र संघीय सरकारको चालुतर्फको कार्यक्रमका लागि ४४ करोड ४३ लाख रुपैयाँ गरी जम्मा चालु खर्च ५६.६९ प्रतिशत (७९ करोड २३ लाख रुपियाँ) र पूँजीगत खर्चतर्फ ४३.३१ प्रतिशत (६० करोड ५२ लाख १० हजार ५७६ रुपियाँ ३७ पैसा) विनियोजन गरिएको छ ।

आन्तरिक स्रोततर्फ १६ करोड ३२ लाख आठ हजार ५७६ रुपैयाँ ३७ पैसा, अल्या (मौज्दात रकम) तर्फ २९ करोड रुपैयाँ, संघीय समानीकरण अनुदानतर्फ २० करोड ६३ लाख रुपैयाँ, संघीय ससर्त अनुदान चालुतर्फ ४४ करोड ४३ लाख रुपैयाँ, संघीय ससर्त अनुदान पूँजीगततर्फ एक करोड ७५ लाख रुपैयाँ बजेटमा प्रस्ताव गरिएको छ ।

यसैगरी, संघीय विशेष अनुदान पूँजीगततर्फ एक करोड ७५ लाख रुपैयाँ, संघीय समपूरक अनुदानतर्फ ४५ लाख रुपैयाँ, प्रदेश समानीकरणतर्फ एक करोड ४४ लाख ४९ हजार रुपैयाँ, प्रदेश पूँजीगततर्फ ३० लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँटतर्फ एक करोड २० लाख ६० हजार रुपैयाँ र मालपोत रजिस्ट्रिशन अनुमानित रकम ६ करोड रुपैयाँ गरी कुल बजेट प्रस्तावित गरिएको हो ।

बजेटमा पूर्वाधार, सहरी विकास, शिक्षा, युवा तथा खेलकुद विकास, स्वास्थ्य, कृषि तथा सिँचाइ, पशु विकास, खानेपानी, सरसफाइ तथा सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकता दिइएको नगर प्रमुख चौधरीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशसभाका पूर्वसदस्य तथा पूर्वनगर प्रमुख लगनलाल चौधरीले प्रस्तावित बजेटले सबै क्षेत्रलाई समेट्न खोजेको र यसको सफल कार्यान्वयन भए लहानले विकासमा फड्को मार्ने बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully