शिकारीबासमा जंगली हात्तीद्वारा पाक्न लागेको धानबाली नष्ट

पर्साको ठोरी गाउँपालिका–३ शिकारीबासमा हात्तीको बथानले पाँच दिनदेखि धानबाली नष्ट गरेपछि किसानले राहतको माग गरेका छन्।

असार ९, २०८३

शंकर आचार्य

Wild elephants destroy ripening rice crop in Shikaribas

What you should know

पर्सा — पर्साको ठोरी गाउँपालिका–३ शिकारीबासमा पाँच दिनदेखि जंगली हात्तीको आतंक बढेको छ। पाकेर भित्र्याउने तयारीमा रहेको चैते धानबाली हात्तीको बथानले लगातार नष्ट गर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन्।

स्थानीय बमभोला महतो थारुका अनुसार रातको समयमा ९ देखि १२ वटासम्मको हात्तीको बथान गाउँ आसपासका खेतमा पसेर धानबाली सखाप पारिरहेको छ। ‘दुःख गरेर हुर्काएको धान भित्र्याउने बेला भएको छ, तर हात्तीले केही क्षणमै नष्ट गरिदिन्छ,’ उनले भने।

बिगा चौधरी, दिलिप गौरो, सञ्जय चौधरीलगायत किसानको करिब दुई कठ्ठा क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भइसकेको छ। किसान बिनोद यादवको असारे धानको बेर्ना पनि हात्तीले नष्ट गरेको थारुले बताए ।

अर्का किसान दुखा महतोले वन्यजन्तुको आतंकका कारण हरेक वर्ष खेती जोगाउन समस्या हुने गरेको बताए। ‘धान पाक्ने बेला हात्ती आउँछ, अन्य समयमा बदेल, चित्तल र बाँदरले बाली नोक्सान गर्छन्,’ उनले भने, ‘अनेक दुःख गरेर लगाएको बाली आधा पनि जोगिँदैन।’

शिकारीबास चितवन र पर्सा राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा पर्छ। यहाँका ५२ घरधुरी मुख्य रूपमा खेतीपातीमा निर्भर छन्। तर वन्यजन्तुको नियमित आक्रमणका कारण कृषि उत्पादनमा ठूलो क्षति व्यहोर्नुपरेको स्थानीयको गुनासो छ।

वीरगन्ज–ठोरी हुलाकी सडकबाट करिब सात किलोमिटर जंगलको बाटो पार गरेर मात्र गाउँ पुग्न सकिन्छ। स्थानीय अझै सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाबाट बञ्चित छन्। गाउँसम्म पुग्ने सडक शिकारीबास खोलामार्फत जाने भएकाले वर्षायाममा आवतजावत नै प्रभावित हुने गरेको छ।

गाउँमा पाँच कक्षासम्म मात्र पढाइ हुने विद्यालय छ। त्यसपछि अध्ययनका लागि विद्यार्थीले दैनिक करिब २४ किलोमिटर साइकल यात्रा गर्नुपर्ने हुन्छ । स्वास्थ्य चौकी भए पनि नियमित स्वास्थ्यकर्मी र औषधि नहुँदा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । स्थानीयले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी संरक्षण तथा राहत कार्यक्रम सञ्चालन गर्न सरोकारवाला निकायसँग माग गरेका छन्।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully