सशस्त्र प्रहरी र वन कार्यालयको टोलीले वीरगञ्ज–३२ टेढाबाट कटान गरिएको करिब ४० क्युबिक फिट सालको काठ बरामद गरी अनुसन्धान अघि बढाएको छ।
पर्सा — सशस्त्र प्रहरी र वन कार्यालयको संयुक्त टोलीले पर्साको वीरगञ्ज महानगरपालिका–३२ टेढा क्षेत्रमा अवैध रूपमा जंगलबाट कटान गरी राखिएको सालको काठ बरामद गरेको छ।
सशस्त्र प्रहरी सुरक्षा बेस बेल्वा तथा सव–डिभिजन वन कार्यालय सबैयाबाट खटिएको संयुक्त टोलीले शनिबार
विशेष सूचनाका आधारमा अनुगमन गर्ने क्रममा बेवारिसे अवस्थामा राखिएको काठ फेला पारेको हो।
टोलीले स्थानीय जगदीश माझीको घरनजिकबाट अन्दाजी १० क्युबिक फिट बराबरका दुई थान सालका गोलिया काठ बरामद गरेको जनाएको छ। त्यस्तै परसवा क्षेत्रबाट थप अन्दाजी ३० क्युबिक फिट सालको चिरान काठ समेत फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
वन क्षेत्रबाट अवैध रूपमा कटान गरी संकलन गरेर राखिएको आशंकामा बरामद काठ अनुसन्धान तथा कारबाहीका लागि सव–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी डीएसपी मोहनराज निरौलाले जानकारी दिए।
