चन्द्रपुरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

पर्सभित्र कालो प्लास्टिकमा बेरेर लुकाइराखेको २४० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।

असार ५, २०८३

शिव पुरी

Two arrested with brown sugar from Chandrapur

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र नगदसहित दुई जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ।

चन्द्रपुर नगरपालिका–६, डावरीटोलका २६ वर्षीय निराशकुमार सापकोटालाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ। बिहीबार पक्राउ परेका दुवैलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

राति शंकास्पद अवस्थामा फेला परेका सापकोटाको खानतलासी गर्दा शरीरमा लुकाएको अवस्थामा लागुऔषध र नगद बरामद भएको प्रहरीले जनाएको छ। सापकोटाले बोकेको पर्सभित्र कालो प्लास्टिकमा बेरेर लुकाइराखेको २४० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ। सापकोटाको साथबाट ३२ हजार २ सय ९० रुपैयाँ नगदसमेत बरामद भएको छ।

पक्राउ परेका सापकोटामाथि प्रारम्भिक सोधपुछ गर्दा चन्द्रपुर–६, शान्तिनगर टोलका ३० वर्षीय विकास न्यौपानेसँग उक्त लागुऔषध खरिद गरेको बयान दिएका थिए। त्यसपछि प्रहरीले न्यौपानेलाई पनि पक्राउ गरेको जनाएको छ। न्यौपानेको साथबाट २२ हजार ३ सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैमाथि लागुऔषधसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully