दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्दै रैथाने उद्योगबाट उत्पादित पौष्टिकयुक्त पिठो प्रयोग गरेर खेतदेखि थालसम्म विद्यालय खाजा कार्यक्रमलाई अनिवार्य गर्ने भएको छ ।
What you should know
जनकपुर —
आर्थिक वर्ष ०८३–०८४ मा मधेश प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ५ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ । पूर्वाधार विकासपछि मधेश प्रदेश सरकारले सबैभन्दा बढी प्राथमिकतामा राखेको क्षेत्र स्वास्थ्य नै हो ।
मधेश प्रदेश सरकारले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नारा दिदै स्थानीय तहको सहलागतमा प्रदेशका सबै वडामा नागरिक अरोग्य सेवा केन्द्र स्थापना गर्ने र स्वास्थ्य उपकरण खरिद गर्ने भएको छ । मधेश प्रदेशका नागरिकले विशिष्टीकृत उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्न प्रादेशिक अस्पताल जनकपुरलाई मुटु, मिर्गौला र क्यान्सर रोगको उपचार सेवासहितको सुविधासम्पन्न शिक्षण अस्पतालमा स्तरोन्नती गरिने नीति पनि प्रदेश सरकारले लिएको छ ।
तराई–मधेशमा मुख्य स्वास्थ्य समस्या रहेको सर्पदशको उपचारलाई सर्वसुलभ बनाउन आधारभूत स्वास्थ्य केन्द्रमा एन्टिस्नेक भेनमसहितको सर्पदंश उपचार केन्द्र विस्तार गर्न बजेट विनियोजन गरेको छ । अति विपन्न, दलित र सीमान्तकृत समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउन मधेश प्रदेश सरकारले उनीहरुको स्वास्थ्य बिमाको प्रमियम बेहोर्ने गरी स्थानीय तहसँग लागत साझेदारीमा पूर्ण स्वास्थ्य बिमा कभरेज अभियान लागू गर्ने भएको छ ।
मातृ तथा शिशु मृत्युदर घटाउन गर्भधारणदेखि शिशुको दुई वर्षसम्मको अवधिलाई लक्षित गरेर गर्भवती आमा पोषण प्याक वितरण गर्न र मुख्यमन्त्री पोषण कोसेली थप प्रभावकारी बनाउन मधेश प्रदेश सरकारले मधेश पोषण मिसन–०८३ सञ्चालन गर्नेछ । दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्दै रैथाने उद्योगबाट उत्पादित पौष्टिकयुक्त पिठो प्रयोग गरेर खेतदेखि थालसम्म विद्यालय खाजा कार्यक्रमलाई अनिवार्य गर्ने भएको छ । त्यसका लागि एक पालिका, एक पोषण उत्पादन केन्द्र स्थापना गर्न सार्वजनिक–नीजि साझेदारी गर्ने नीति मधेश प्रदेश सरकारको छ ।
बढ्दो लागूऔषध दुर्व्यसन र मानसिक स्वास्थ्य समस्या न्यूनीकरणका लागि विद्यालय र सार्वजनिक स्थलहरुमा योग तथा ध्यान अभियान सञ्चालन गर्ने भएको छ । मधेश प्रदेश सरकारले सर्वसुलभ र विशिष्टीकृत स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै टेलिमेडिसिन सेवाको पनि विस्तार गर्ने रणनीति बनाएको छ ।
