सिरहा प्रहरीले जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा फरार रहेका बरियारपट्टीका वीरेन्द्र कुमार यादवलाई आफ्नै घरबाट ६ वर्षपछि पक्राउ गरेको छ।
सिरहा — सिरहा प्रहरीले जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई ६ वर्षपछि पक्राउ गरेको छ ।
प्रहरीले बरियारपट्टी गाउँपालिका–५ का ५० वर्षीय वीरेन्द्र कुमार यादवलाई मंगलबार साँझ आफ्नै घरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार २०७६ असोज ३० गते वीरेन्द्रले स्थानीय रामएकवाल सदायकी पत्नी २५ वर्षीया अनिता देवी सदायलाई घरमै सुतिरहेको अवस्थामा धारिलो हतियार देखाई जबर्जस्ती करणी गरेको भन्दै पीडित पक्षले जाहेरी दिएका थिए । यस घटनाको अनुसन्धान भइरहेकै अवस्थामा कात्तिक २१ गते लक्ष्मीपुर गाउँपालिका–५ स्थित खेतमा अनिता घाँटीमा तारले कस्सिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
यसको थप अनुसन्धानका भइरहेको बेला कात्तिक २६ गते वीरेन्द्रलाई परिवारजनले आफ्नै घरको कोठामा विष सेवन गरी अचेत अवस्थामा फेला पारेका थिए । उनी उपचारमा रहेको बेला प्रहरीले वीरेन्द्रको कोठाबाट मृतकले प्रयोग गर्ने मोबाइल फोन, घटनामा प्रयोग भएको तामाको तार तथा सुसाइड नोट बरामद भएको थियो ।
प्रहरीका अनुसार सुसाइड नोटमा वीरेन्द्रले अनिताको हत्या गरेको स्वीकार गर्दै पश्चातापका कारण आफूले विष सेवन गरेको उल्लेख गरेका छन् । घटनापछि फरार रहेका वीरेन्द्रलाई खोजतलास गर्दै जाने क्रममा इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
वीरेन्द्रलाई प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको छ । सिरहा जिल्ला अदालतले उनीमाथि थप अनुसन्धानका लागि पहिलोपटक पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख वासुदेव पाठकले जानकारी दिए ।
