नहरको झाडीमा लुकाइएको ३७० केजी गाँजा बरामद

नहरको खाल्डोमा रहेको झाडीबाट ३७० किलोग्राम गाँजा बरामद

असार ४, २०८३

शंकर आचार्य

370 kg of marijuana hidden in canal bushes seized

पर्सा — पर्साको छिपहरमाई गाउँपालिकास्थित मिर्जापुर क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार राति छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित पानी नभएको नहरको खाल्डोमा रहेको झाडीबाट ३७० किलोग्राम गाँजा बरामद गरेको हो।

प्रहरीले २५ वटा प्लास्टिकको पोकामा प्याक गरेर लुकाइराखिएको अवस्थामा उक्त गाँजा फेला पारेको जनाएको छ। राति करिब सवा ९ बजेको समयमा गरिएको खोजतलासका क्रममा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको तथा यस घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान गरी पक्राउ गर्न अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। हाल गाँजा कसले र कहाँबाट ल्याएर उक्त स्थानमा लुकाएको भन्ने विषयमा अनुसन्धान जारी रहेको उनले बताए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully