सप्तरीका १६ स्थानीय तहबाट ‘प्यान कार्ड’ सेवा सुरु

सरकारले करदाता सेवा कार्यालय खारेज गरेपछि सप्तरीका १८ मध्ये १६ स्थानीय तहले प्यान कार्डसहितका सेवा सञ्चालनमा ल्याएका छन्, बाँकी दुई पालिकामा तालिम बाँकी छ।

असार २, २०८३

विद्यानन्द राम

'PAN Card' service launched from 16 local levels in Saptari

राजविराज — सप्तरीमा स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान कार्ड) लगायतका सेवा प्रवाह सुरु भएको छ। सरकारले देशभरका करदाता सेवा कार्यालय खारेज गर्दै स्थानीय तहमार्फत सेवा उपलब्ध गराउने व्यवस्था गरेपछि जिल्लाका अधिकांश पालिकाले सेवा सञ्चालनमा ल्याएका हुन्।

आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत अमित पौडेलका अनुसार जिल्लाका १८ स्थानीय तहमध्ये १६ वटामा सम्झौता सम्पन्न भई प्यान कार्डलगायतका सेवा सुरु भइसकेका छन्। राजविराज नगरपालिका र रुपनी गाउँपालिकामा भने कर्मचारी तालिम बाँकी रहेकाले सेवा सञ्चालन हुन सकेको छैन।

'ती दुई पालिकासँग पनि सम्झौता भइसकेको छ, अब कर्मचारीलाई तालिम दिएपछि सेवा सुरु हुन्छ,' उनले भने। स्थानीय तहका कर्मचारीलाई कामका क्रममा आउने समस्या समाधानका लागि आन्तरिक राजस्व कार्यालयका कर्मचारीलाई सम्पर्क व्यक्ति तोकिएको र फोनमार्फत आवश्यक सहजीकरण गरिँदै आएको उनले बताए।

प्रमुख कर अधिकृत पौडेलका अनुसार बोदेबरसाइन, सुरुङ्गा, खडक, डाक्नेश्वरी, शम्भुनाथ, कञ्चनरूप, सप्तकोशी र हनुमाननगर नगरपालिका तथा विष्णुपुर, बलान बिहुल, अग्निसाइर कृष्णासवरण, तिरहुत, महादेवा, तिलाठी कोइलाडी, छिन्नमस्ता र राजगढ गाउँपालिकाबाट प्यान कार्डलगायतका सेवा प्रवाह भइरहेको छ।

स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि प्यान कार्ड बनाउन राजविराजसम्म धाउनुपर्ने बाध्यता हटेको छ। यसले विशेष गरी साना व्यवसायीलाई समय र खर्च दुवै बचत भएको विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल आनन्दले बताए। उनका अनुसार सेवाको स्थानीयकरणले नागरिकलाई सहजता मात्र होइन, सरकारी सेवा पहुँचमै पुर्‍याउने उद्देश्यलाई पनि टेवा पुगेको छ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully