मधेश प्रदेशमा अब 'नो प्लास्टिक'

प्लास्टिकको विकल्पको रूपमा अल्लो, जुट, सुर्तीको डाँठ वा कागजका झोला उत्पादन गर्ने स्थानीय उद्योगहरूलाई मेसिनरी खरिदमा विशेष पुँजीगत अनुदान दिइने

असार १, २०८३

कान्तिपुर संवाददाता

'No plastic' now in Madhesh Province

जनकपुर — मधेश प्रदेश सरकारले प्लास्टिकमुक्त अभियान चलाउने भएको छ । सोमबार अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बढ्दो वातावरणीय प्रदूषण नियन्त्रण गर्न स्थानीय तहसँगको सहकार्यमा 'प्लास्टिक मुक्त मधेश' अभियान सञ्चालन गरिने घोषणा गरेका हुन् । 

अर्थमन्त्री भट्टराईले प्लास्टिकको विकल्पको रूपमा अल्लो, जुट, सुर्तीको डाँठ वा कागजका झोला उत्पादन गर्ने स्थानीय उद्योगहरूलाई मेसिनरी खरिदमा विशेष पुँजीगत अनुदान दिइने बताए । 

त्यस्तै बढ्दो सहरीकरण, औद्योगिक प्रदूषण र तापक्रम वृद्धिलाई न्यूनीकरण गर्न हरेक नगरपालिकामा कम्तीमा एउटा स्मार्ट इको पार्क' निर्माण गर्नुका साथै मुख्य राजमार्ग र सहरी सडक किनारमा छहारी दिने बिरुवा रोप्ने अभियान सञ्चालन गरिने बजेटमा उल्लेख छ । सहरी क्षेत्रको फोहोर मैला व्यवस्थापनलाई दीर्घकालीन समाधान गर्दै आम्दानीसँग जोड्न जैविक फोहोरबाट कम्पोस्ट मल तथा बायो ग्यास उत्पादन गर्ने 'फोहोरबाट मोहोर' कार्यक्रम सञ्चालन गरिनेछ र विद्युतीय फोहोरको सुरक्षित व्यवस्थापन गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

गत वर्षका भन्दा सुधारका कार्यक्रम देखिए पनि वन तथा वातावरणमा बजेट भने कम छुट्याइएको छ । गत वर्ष वन तथा वातावरण मन्त्रालयतर्फ २ अर्ब ३७ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । तर यस वर्ष १ अर्ब ३३ करोड रुपैयाँ मात्र छुट्याइएको छ । 

कान्तिपुर

Link copied successfully