मधेशमा दलित बस्तीलक्षित ‘नमुना होमस्टे’ सञ्चालन गरिने

‘अप्पन बच्चाके स्कुल पठाऊ, साक्षरता के दीप जलाऊ’ नारालाई सार्थक बनाउन विपन्न र सीमान्तकृत समुदायका बालबालिकालाई लक्षित गरी सघन साक्षरता अभियान सञ्चालन गरिने

असार १, २०८३

विद्यानन्द राम

'Model homestay' to be operated in Madhesh for Dalit settlements

राजविराज — मधेश प्रदेश सरकारले सघन दलित बस्तीलाई लक्षित गरी ‘नमुना होमस्टे’ सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ बजेटमा उक्त कार्यक्रम समावेश गरिएको छ ।

प्रदेश दलित सशक्तीकरण ऐनको प्रभावकारी कार्यान्वयन गर्दै अति विपन्न र भूमिहीन दलित परिवारका लागि जनता आवास तथा आयआर्जन कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री भट्टराईले घोषणा गरे ।

उनले विगतमा सञ्चालित महेन्द्रनारायण निधि आवास र मदन भण्डारी आवास कार्यक्रमलाई एकीकृत तथा सुदृढ गर्दै प्रदेशभित्रका विपन्न तथा घरविहीन नागरिकलाई सुरक्षित आवासको व्यवस्था मिलाउन मुख्यमन्त्री आवास कार्यक्रम सञ्चालन गरिने बताए ।  

‘अप्पन बच्चाके स्कुल पठाऊ, साक्षरता के दीप जलाऊ’ नारालाई सार्थक बनाउन विपन्न र सीमान्तकृत समुदायका बालबालिकालाई लक्षित गरी सघन साक्षरता अभियान सञ्चालन गरिने उनले बताए । गरिब तथा पिछडिएका घरपरिवारका जेहेन्दार विद्यार्थीलाई इन्जिनियरिङ, मेडिसिन जस्ता उच्च प्राविधिक विषयमा अध्ययन गराउन छुट्टै ‘प्रदेश छात्रवृत्ति कोष’ स्थापना गरिने अर्थमन्त्री भट्टराईले बताए ।  

त्यस्तै, अति विपन्न, दलित र सीमान्तकृत समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउन स्वास्थ्य बीमाको प्रिमियम प्रदेश सरकारले बेहोर्ने गरी स्थानीय तहसँगको लागत साझेदारीमा ‘पूर्ण स्वास्थ्य बिमा कभरेज अभियान’ लागू गरिने उनले घोषणा गरे ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully