१३ वर्षीया किशोरीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएकी धनुषाकी एक युवतीले ‘टिकटक स्टार बनाउने’ र ‘राम्रो तलबको काम दिलाइदिने’ प्रलोभन देखाएर चार महिनाअघि बिहारको मोतिहारी पुर्याएकी थिइन्।
पर्सा — टिकटक स्टार बनाइदिने भन्दै भारत लगेर जबर्जस्ती अर्केस्ट्रामा पुर्याएकी एक नेपाली किशोरीलाई उद्धारपछि स्वदेश फिर्ता ल्याइएको छ ।
मधेश प्रदेशकी ती १३ वर्षीया किशोरीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएकी धनुषाकी एक युवतीले ‘टिकटक स्टार बनाउने’ र ‘राम्रो तलबको काम दिलाइदिने’ प्रलोभन देखाएर चार महिनाअघि बिहारको मोतिहारी पुर्याएकी थिइन्। त्यहाँ पुगेपछि उनलाई जबर्जस्ती अर्केस्ट्रामा काम गर्न बाध्य बनाइएको थियो।
परिवारले मानव बेचबिखनविरुद्ध कार्यरत संस्था किन नेपाललाई जानकारी गराएपछि भारतीय प्रहरीको सहयोगमा ती बालिकाको उद्धार गरिएको थियो। उद्धारपछि उनलाई भारतको बेतियास्थित बृहत् बालिका गृहमा राखिएको थियो।
किन इन्डिया फाउन्डेसन र बाल कल्याण समिति मोतिहारीको समन्वयमा मंगलबार उनलाई वीरगन्ज फर्काइएको किन नेपाल वीरगन्ज शाखा प्रमुख मनु रानाले जानकारी दिइन् । साताअघि पनि मानव बेचबिखन तथा विभिन्न प्रकारका शोषणमा परेका ६ जना नेपाली चेलीलाई सोही संस्थाले भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएको थियो । उद्धार गरिएकामध्ये पाँच जनालाई परिवारको जिम्मा लगाइएको छ भने एक जनालाई थप संरक्षण तथा पुनःस्थापनाका लागि सुरक्षित आवासमा राखिएको छ।
किन नेपाल वीरगन्ज शाखाले आफन्त इन्डिया फाउन्डेसन, नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा भारतका विभिन्न बाल संरक्षण निकायसँगको समन्वयमा उनीहरूको उद्धार गरेको थियो । उद्धार गरिएकामध्ये सुनसरीको रामधुनी नगरपालिका-१ का तीन जना, कपिलवस्तुको शिवराज नगरपालिकाकी एक, मकवानपुरको मनहरी गाउँपालिकाकी एक तथा सिरहाको सखुवानान्कारकट्टी नगरपालिका–३ का एक जना रहेका छ न्। तीमध्ये पाँच जनालाई परिवारको जिम्मा लगाइएको छ भने एक जनालाई मनोसामाजिक परामर्श, संरक्षण तथा पुनःस्थापनाका लागि आफन्त नेपालको सुरक्षित आवासमा राखिएको रानाले जानकारी दिइन्।
ती ५ मध्ये एक जनालाई हरियाणाको गुरुग्रामबाट तथा अन्य पाँच जनालाई बिहारको सिवानस्थित महिला गृहबाट उद्धार गरिएको थियो। उनीहरूलाई जबर्जस्ती देह व्यापार, अर्केस्ट्रामा अश्लील नृत्य गराउनेलगायतका कार्यमा लगाई शारीरिक तथा मानसिक शोषण गर्दै बन्धक बनाइएको अवस्थामा भारतीय प्रहरीले उद्धार गरेको जनाएको छ।
पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमार्फत चिनजान गरी वैदेशिक रोजगारी, मनोरञ्जन क्षेत्र वा राम्रो आम्दानीको प्रलोभन देखाएर किशोरी तथा महिलालाई भारत पुर्याउने र विभिन्न प्रकारका शोषणमा पार्ने घटना बढ्दो क्रममा रहेको रानाले बताइन् ।
