तीन सातादेखि चरणबद्ध आन्दोलन गर्दै आएका व्यवसायीले मंगलबार राजविराज नगरपालिका कार्यालयमा लगाएको ताला प्रहरीले तोड्दा आक्रोशित व्यवसायीले बजार बन्द गराएका छन्।
What you should know
राजविराज — सप्तरीको राजविराज बजारका व्यवसायीहरुले ‘बिटौरी’ जग्गाको लालपुर्जा माग्दै नगरपालिका कार्यालयमा लगाएको ताला मंगलबार दिउँसो प्रहरीले तोडेको छ । ताला तोड्दा आक्रोशित व्यवसायीले सडकमा प्रदर्शन गर्दै राजविराज बजारसमेत बन्द गराएका छन् ।
उनीहरुले माग सम्बोधन गर्न जनप्रतिनिधिले पहल गर्नुपर्नेमा अनसन बसिरहेका व्यवसायीमाथि प्रहरी लगाएर बलजफ्ती गरेको बताए । आन्दोलन परिचालन समिति गठन गरेर आन्दोलन सुरु गरेका व्यवसायीहरुले केही स्थानीयले जनप्रतिनिधि र कर्मचारीलाई प्रभावमा पारेर लालपुर्जा लिइसक्दा पनि आफुहरुलाई दिन अनाकानी गरिरहेको आरोप लगाए ।
लालपुर्जाका लागि उनीहरुले ३ सातादेखि चरणवद्ध रुपमा नगरपालिका कार्यालय लक्षित आन्दोलन गर्दै आएका थिए । गत आइतबार अनसनस्थलमा आएका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले ‘बिटौरी’ जग्गाको लालपुर्जाको समस्या वडा कार्यालय, नगरपालिका वा भूमि प्रशासन कार्यालयले सुल्झाउनै नसक्ने जानकारी गराएका थिए । यहाँबाट सुल्झाउन नसकिने भएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र गृह मन्त्रालयमा लेखेर पठाइसकेको तथा त्यहीँ पुगेर थप ध्यानाकर्षण गराउन प्रजिअ पोखरेलले आन्दोलनरत पक्षलाई सुझाव दिँदै अनसन स्थगित गर्न आग्रह गरेका थिए ।
त्यसअघि शनिबार यहाँका सांसदसमेत रहेका युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले पनि स्थानीयस्तरबाट ती समस्या समाधान हुन नसक्ने भिडियो कलमार्फत अवगत गराउँदै भूमि सम्बन्धी समस्या समाधान गर्न एक साताअघि बनेको समितिसँग समन्वय गरिसकेको तथा काठमाडौं आएर समितिसँगै छलफल गर्न उनीहरुलाई आग्रह गरेका थिए । तर, ठोस पहल नभएसम्म तालाबन्दी र अनसन जारी नै राख्ने व्यवसायीहरुले अडान दोहोर्याउँदै आएका थिए । आर्थिक वर्ष सकिने बेला नगरपालिका कार्यालय बन्द रहँदा कामकाज प्रभावित भइरहेको छ।
