हरैया थाना प्रमुख कृष्ण पासवानले पक्राउ परेका दुवैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मोतिहारी अदालतमा उपस्थित गराउने तयारी गरिएको बताए ।
पर्सा — नेपाल-भारत सीमास्थित रक्सौल नाकाबाट भिसाबिनै भारत प्रवेश गर्न खोज्ने म्यानमारका एक पुरुष र स्विट्जरल्यान्डकी एक महिला पक्राउ परेका छन्।
रक्सौलस्थित नेपाल-भारत मैत्री पुलमा नियमित जाँचका क्रममा भारतीय सुरक्षा निकायले उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा म्यानमारका आङ निङ ल्यन्ट र स्विट्जरल्यान्डकी जुनिला बेक रहेका छन्।
भारतीय प्रहरीले उनीहरू भिसाबिनै बिहारतर्फ प्रवेश गर्न खोजिरहेको अवस्थामा पक्राउ परेको जनाएको छ। सीमामा खटिएको सुरक्षा टोलीले कागजात जाँचका क्रममा शंका लागेपछि सोधपुछ गर्दा आवश्यक यात्रा अनुमति तथा भिसा नभएको खुलेको हो।
रक्सौलको हरैया थाना प्रहरीले दुवै विदेशी नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ। हरैया थाना प्रमुख कृष्ण पासवानले पक्राउ परेका दुवैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मोतिहारी अदालतमा उपस्थित गराउने तयारी गरिएको बताए।
भारतीय अध्यागमन र सुरक्षा निकायले उनीहरू भारत प्रवेश गर्न खोज्नुको उद्देश्य तथा उनीहरूको यात्रा मार्गबारे अनुसन्धान गरिरहेको जनाइएको छ।
भारत–नेपाल खुला सीमामा तेस्रो मुलुकका नागरिकले आवतजावत गर्दा राहदानी र भिसा अनिवार्य हुने व्यवस्था छ।
