आइतबार वीरगन्जस्थित होटल भिस्वामा दुवै पक्षबीच भएको छलफलपछि जिल्ला प्रतिनिधिको नामावलीसम्बन्धी विवाद समाधान भएको पार्टी स्रोतले जनाएको छ।
पर्सा — आन्तरिक विवादका कारण स्थगित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशन सोमबार हुने भएको छ।
पार्टीका संगठन विभाग सचिव शंकर श्रेष्ठको उपस्थितिमा आइतबार वीरगन्जस्थित होटल भिस्वामा दुवै पक्षबीच भएको छलफलपछि जिल्ला प्रतिनिधिको नामावलीसम्बन्धी विवाद समाधान भएको पार्टी स्रोतले जनाएको छ। सहमतिसँगै सोमबार बिहान ८ बजेदेखि जिल्ला अधिवेशन तथा निर्वाचन प्रक्रिया एकसाथ अघि बढाइने भएको हो ।
आइतबारका लागि तय गरिएको जिल्ला अधिवेशनअघि शनिबार वीरगन्जको घण्टाघरस्थित होटल गेट वेमा निर्वाचन प्रक्रिया चलिरहेका बेला मतदाता अर्थात् जिल्ला प्रतिनिधिको नामावलीलाई लिएर पार्टीका दुई समूहबीच विवाद भएको थियो। विवाद चर्किँदा कार्यकर्ताबीच हातपातसमेत भएको थियो।
त्यसपछि निर्वाचन समितिले निर्वाचन प्रक्रिया आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरेको थियो। निर्वाचन समितिका संयोजक डा. नन्दन यादवले आइतबार अर्को सूचना जारी गर्दै अपराह्न ३ बजेदेखि प्रक्रिया पुनः सुरु गरिने जानकारी दिए पनि विवाद समाधान हुन नसक्दा अधिवेशन सञ्चालन हुन सकेको थिएन।
आइतबार भएको छलफलपछि विवादित विषयमा सहमति जुटेकाले अधिवेशन तथा नेतृत्व चयन प्रक्रिया सोमबारदेखि अघि बढ्ने रास्वपाले जनाएको छ।
