आन्तरिक विवादले महोत्तरीमा रास्वपा अधिवेशन स्थगित

नगर तथा क्षेत्रीय अधिवेशनदेखि सुरू भएको विवाद र कुटपिटको घटनापछि जिल्ला अधिवेशनको प्रक्रिया समेत प्रभावित बनेको छ ।

जेष्ठ २४, २०८३

सन्तोष सिंह

RSP convention postponed in Mahottari due to internal dispute

महोत्तरी — महोत्तरीमा रास्वपा संगठन विस्तार र अधिवेशन प्रक्रिया सुरक्षा कारण देखाउँदै अनिश्चित कालका लागि स्थगित गरिएको छ । आन्तरिक विवाद झन् चर्किएपछि अधिवेशन स्थगित गरिएको हो ।

नगर तथा क्षेत्रीय अधिवेशनदेखि सुरू भएको विवाद र कुटपिटको घटनापछि जिल्ला अधिवेशनको प्रक्रिया समेत प्रभावित बनेको छ ।

रास्वपा महोत्तरी जिल्ला अधिवेशन निर्वाचन समितिले सार्वजनिक गरेको निर्णयअनुसार अधिवेशनका बाँकी सबै कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ। समितिले अधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विभिन्न पक्षबीच विवाद उत्पन्न भएको र सहमतिमार्फत समाधान खोज्न समय आवश्यक परेकाले कार्यक्रम स्थगन गरिएको जनाएको छ ।

पार्टी स्रोतका अनुसार क्षेत्रीय तथा नगर अधिवेशनका क्रममा उम्मेदवारी, प्रतिनिधि छनोट र नेतृत्व चयनलाई लिएर विभिन्न समूहबीच चर्को विवाद भएको थियो । जिल्ला नेतृत्व चयनका विषयमा समेत नेताहरूबीच तीव्र मतभेद देखिएको छ । 

अधिवेशन निर्वाचन समितिका संयोजक मनिषकुमार साहले जारी गरेको विज्ञप्तिमा विवादित पक्षहरूबीच छलफल गरी सहमतिका आधारमा अगाडि बढ्ने वातावरण बनाउन समय आवश्यक भएकाले कार्यक्रम स्थगित गरिएको उल्लेख छ ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully