जिल्ला अधिवेशनअघि रास्वपा पर्सामा कुटाकुट, तीन जना घाइते

जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोटको विषयमा असन्तुष्टि जनाउँदै एक पक्षले अधिवेशन स्थगित गर्न माग गरेको थियो। त्यसक्रममा भएको विवादले उग्र रूप लिएपछि कार्यकर्ताबीच कुटाकुट भएको हो।

जेष्ठ २३, २०८३

शंकर आचार्य

Three injured in brawl in RSVP Parsa ahead of district convention

What you should know

पर्सा — राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको जिल्ला अधिवेशनअघि प्रतिनिधि छनोटलाई लिएर पार्टीभित्रको विवाद उग्र बन्दै जाँदा कार्यकर्ताबीच कुटाकुट भएको छ।

घटनामा पार्टीका केही कार्यकर्ता घाइते भएका छन् । आइतबार हुने जिल्ला अधिवेशनको तयारीस्वरूप वीरगन्ज–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गेटवे होटलमा शनिबार निर्वाचन प्रक्रिया चलिरहेका बेला दुई पक्षबीच विवाद चर्किएर हात हालाहालको स्थिति बनेको हो। 

जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोटको विषयमा असन्तुष्टि जनाउँदै एक पक्षले अधिवेशन स्थगित गर्न माग गरेको थियो। त्यसक्रममा भएको विवादले उग्र रूप लिएपछि कार्यकर्ताबीच कुटाकुट भएको हो। घटनामा महादेवप्रसाद कुर्मी, गौतम श्रेष्ठसहित तीन जना घाइते भएका छन्।

शनिबार दिउँसो नै पार्टी सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधीर पटेललगायतले मधेश प्रदेश उपसभापति तथा निर्वाचन समिति सदस्य राधिका न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला अधिवेशन स्थगित गर्न माग गरेका थिए। उनीहरूले जिल्ला सभापति तथा पर्सा–१ का सांसद हरि पन्त पक्षले पार्टीको विधान र पद्धतिविपरीत आफू निकट व्यक्तिलाई मात्र प्रतिनिधि बनाएको आरोप लगाएका छन्। जिल्ला अधिवेशनका लागि सार्वजनिक गरिएको प्रतिनिधिको नामावलीमा विभिन्न विभागका प्रतिनिधि पनि समावेश गरिएको भन्दै ती विभाग कहिले र कसरी गठन गरिए भन्ने विवरण सार्वजनिक गर्न माग गरिएको थियो।

ज्ञापनपत्रमा विभाग गठनसम्बन्धी निर्णय, माइन्युट तथा प्रतिनिधि मनोनयन प्रक्रियाबारे पारदर्शी जानकारी सार्वजनिक गरेपछि मात्र अधिवेशन गर्नुपर्ने उल्लेख गरिएको छ। निर्वाचन समितिले ज्ञापनपत्र प्राप्त गरेपछि करिब दुई घण्टाका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको थियो। तर प्रक्रिया पुनः सुरु भएसँगै होटल परिसरमा दुई पक्षबीच विवाद चर्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

होटलभित्र भएको विवाद बढ्दै गएर सडकसम्म छताछुल्ल भएको थियो । उनीहरूले एकअर्कामाथि हात हालाहालदेखि हेलमेटसमेतले प्रहार गरेका थिए । घटनास्थल पुगेको प्रहरीले लाठीचार्जसमेत गरेको थियो । निर्वाचन समिति स्रोतले निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको र बाँकी प्रक्रिया आइतबार बिहान ८ बजेदेखि पुनः सन्चालन गरिने बताएको छ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully