फलफूल मण्डीमा जग्गाधनीको ‘बलजफ्ती’

सम्झौताअनुसार २० वर्षको म्याद सकिएपछि जग्गाधनी नवलकिशोर साहले मण्डी खाली गर्न गरेको आग्रहअनुसार व्यवसायीहरू त्यहाँबाट सर्न खोज्दा अवरोध गरिएको व्यवसायीको गुनासो ।

जेष्ठ १९, २०८३

अजित तिवारी

Landowner's 'forcible seizure' at fruit market

What you should know

जनकपुर — जनकपुरस्थित मधेश प्रदेशकै ठूलो फलफूल मण्डी हटाउन जग्गाधनीले बलजफ्ती गरेको व्यवसायीहरूले गुनासो गरेका छन् । फलफूल मण्डी खाली गर्ने जग्गाधनीको उर्दी र उच्च अदालतको परमादेशमाथि टेकेर व्यवसायी त्यहाँबाट सर्न खोज्दा अवरोध गरिएको छ । 

फलफूल तथा तरकारी व्यवसायी संघका पदाधिकारी मंगलबारदेखि फलफूल मण्डीमा धर्नामा बसेका छन् । संघको अडानमा जनकपुरधाम उद्योग वाणिज्य संघले साथ दिएको छ । जनकपुरको शुक्रबारे हटियामा रहेका फलफूल मण्डीलाई त्यहाँबाट हटाएपछि २० वर्षका लागि नवलकिशोर साहको ९ कठ्ठा जग्गा बहालमा लिएर जनकपुरमा फलफूल मण्डी राखियो । सम्झौताअनुसार २० वर्षको म्याद सकिएपछि जग्गाधनी साहले मण्डी खाली गर्न गरेको आग्रहअनुसार व्यवसायीहरू त्यहाँबाट सर्न खोज्दा अवरोध गरिएको व्यवसायीहरूको गुनासो छ । 

‘मण्डीमा रहेका फलफूल र भौतिक संरचना लैजान खोज्दा जग्गाधनीले डोजर लगाएर ५ फिट गहिरो खाल्टो खनिदिएका छन्,’ फलफूल तथा तरकारी व्यवसायी संघका सचिव भूपनेश्वर पूर्वेले सञ्चारकर्मीसँग भने, ‘मण्डी खाली गर्न नै अवरोध गरिएको छ । प्रहरीले पनि जग्गाधनीलाई नै साथ दिएको छ ।’ Landowner's 'forcible seizure' at fruit marketजनकपुरस्थित फलफूल मण्डी ।

यहाँका २ सय ५० जना फलफूल व्यवसायी यस फलफूल मण्डीबाट कारोबार गर्छन् । पूर्वेका अनुसार भारतबाट फलफूल बोकेका मालवाहक गाडी दैनिक ५०–६० वटा मण्डीमा आउने गरेको र यहाँबाट वीरगन्ज, हेटौंडा र चितवनसम्म फलफूलको कारोबार हुने गरेको छ । 

फलफूल मण्डी खाली गर्न व्यवसायीले जग्गाधनीसँग दुईवटा माग राख्दै धर्नामा बसेका हुन् । एउटा, मण्डी खाली गर्न गरिएको अवरोध हटाउन र दोस्रो, आँपको पिक सिजन रहेकाले कम्तीमा दुई महिना मण्डी खाली गर्न समय थप्न माग गरिएको छ । 

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले विगतदेखि नै फलफूल व्यवसायीलाई लखेट्ने क्रम चलेको आरोप लगाए । उनका अनुसार शुक्रबारे हटियाको कृषि बजारबाट हटाइएका फलफूल व्यवसायीले आफ्नै बलबुतामा निजी जग्गामा मण्डी लगाए । ‘यहाँबाट पनि अपमानजनक ढंगले लखेट्ने काम भएको छ,’ अध्यक्ष भण्डारीले भने, ‘कृषि उपज बस्तुको बजारमा सरकारले ध्यान दिनुपर्ने हो । तर, यहाँ धपाउने काम मात्र भइरहेको छ ।’ भण्डारीले ५–१० दिनमा फलफूलको मण्डी खाली गर्न सम्भव नरहेकाले आपसी समझदारीमा समय थप्नुपर्ने माग गरे । 

फलफूल तथा तरकारी व्यवसायीका लागि जनकपुरको कुवारामपुरमा गुठीको जग्गामा मण्डी बसाउने जनकपुरधाम उपमहानगरपालिकाको तयारी छ । उपमहानगरका अनुसार गुठी संस्थानसँग कुवारामपुरको जग्गा लिजमा लिने सम्झौता हुन बाँकी रहेकाले मण्डी व्यवस्थापनमा ढिलाइ भएको हो । 

फलफूल मण्डीका जग्गाधनी साहका म्यानेजर गोविन्द झाले लिजमा दिने २० वर्षको अवधि समाप्त भएको र उच्च अदालत जनकपुरले पनि मण्डी खाली गर्न परमादेश जारी गरेकाले आफूहरूले जग्गा क्लियर गरिदिन दबाब दिएको बताए । ‘लिजको समय सकिएपछि मण्डी यहीं राख्छु भन्न मिल्दैन,’ उनले भने, ‘१० वर्षदेखि जग्गाको भाडा दिएको छैन । जग्गामा निर्माण गरिएको भौतिक संरचना लग्न खोजेपछि बाटो खनिदिएका हौं ।’

तर, फलफूल व्यवसायी रोहितप्रसाद ठाकुरले जग्गा लिजमा लिने सम्झौतामा फलफूल व्यवसायीले निर्माण गरेको अस्थायी भौतिक संरचना के गर्ने भन्नेबारे उल्लेख नरहेकाले आफूले त्यो लग्न पाउनुपर्ने बताए । ‘बाँकी रहेको भाडा रकम लिन हामीले धेरैपटक आग्रह गर्‍यौं । तर, जग्गाधनीले खाली गर्नुस् भन्ने मात्रै अडान लिइरहेका छन्,’ ठाकुरले भने ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully