बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा तारेखमा रिहा गर्नेबारे निर्णय गर्नेछ।
वीरगन्ज — वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको जिल्ला अदालत पर्सामा बयान सकिएको छ । उनी लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका थिए ।
अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार सिंहको बयान सम्पन्न भइसकेको र केहीबेरमै थुनछेक बहस सुरु हुनेछ । बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा तारेखमा रिहा गर्नेबारे निर्णय गर्नेछ।
पर्सा जिल्ला अदालतले गत मंगलबार सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतको आदेशअनुसार प्रहरीले मंगलबार बिहान ६:१५ बजे पर्साको ठोरीस्थित जंगल रिसोर्टबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए ।
सिंहमाथि नक्कली कागजातका आधारमा अर्काकी छोरीलाई आफ्नै छोरी देखाई नागरिकता तथा अन्य सरकारी कागजात बनाउन सहयोग गरेको आरोप छ । सोही आरोपमा उनीविरुद्ध लिखतसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
