नगरपालिकाले मंगलबार २४ दलित सुकुमवासी परिवारलाई पक्की घर हस्तान्तरण गरेको हो ।
सिरहा — लहान नगरपालिका-२२ जहदी गमहरियाका दलित सुकुमवासी परिवारहरूले पक्की घर पाएका छन् । नगरपालिकाले मंगलबार यहाँका २४ दलित सुकुमवासी परिवारलाई पक्की घर हस्तान्तरण गरेको हो ।
घर पाउनेमा अति विपन्न मानिने मुसहर, रामलगायतका दलित परिवार छन् । उनीहरू फुसको घर बनाएर बस्दै आएका थिए । सोही जग्गामा नगरपालिकाले विपन्नका लागि सुरक्षित आवास कार्यक्रमअन्तर्गत उनीहरूलाई घर बनाइदिएको हो ।
नगरपालिका र ह्याभिटेट फर ह्युम्यानिटी नेपालको संयुक्त लगानीमा बनेका यी घरहरूमामा २ वटा बस्ने कोठा र एउटा भान्सा कोठा छन् । घरमाथि जस्ता हालिएको छ भने तल बाँसको प्रयोग गरी प्लास्टर गरिएको छ ।
यी घर निर्माणमा नगरपालिकाको कुल ८२ लाख ८५ हजार ५ सय १५ रुपैयाँ र हेविटेट फर ह्युम्यानिटी नेपालको २० लाख ३५ रुपैयाँ लगानी तथा लाभग्राहीहरूको २५ लाख ७१ हजार ४ सय ५९ रुपैयाँ बराबरको श्रमदान र भवानी एकीकृत विकास केन्द्रको प्राविधिक सहयोग रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार, यी घरहरूको आयु ३० वर्षबढी हुने छ । नगरपालिकाले केही दिनअघि मात्रै लहान १३ का २० दलित सुकुम्बासी परिवारलाई यस्तै घर हस्तान्तरण गरेको थियो । नगरपालिकाले अन्य स्थानमा पनि यस्ता घर बनाइरहेको छ ।
