जिल्ला अदालत पर्साले मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।
पर्सा — वीरगगन्ज महानगरका मेयर राजेशमान सिंहका स्वकिय सचिव सत्यराज घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पर्सा जिल्ला अदालत परिसरबाट सोमबार बिहान करिब १० बजे उनलाई नियन्त्रणमा लिएको हो ।
‘के कति कारणले पक्राउ गरिएको हो, हामीले पनि थाहा पाउन सकेनौं,’ मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयालले भने, ‘बिहानैदेखि अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मीको उपस्थिति देखिन्थ्यो ।’
पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले घिमिरेलाई केही सोधपुछ गर्न नियन्त्रणमा लिइएको बताए । ‘उहासँग केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘सोधपुछ भइरहेको छ ।’
यसअघि गत मंगलबार लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पर्साले मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले उनको खोजतलास गरिरहेको छ ।
मेयर सिंहविरुद्ध चारवटा मुद्दा परेको थियो, तर लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो । मेयर सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको जाहेरी परेको थियो । सोही आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो । वीरगञ्जका स्थानीय लियाकत अलीको जाहेरी अनुसार पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।
मेयर सिंह भने वीरगन्जमा छैनन् । पछिल्लो पटक उनी भारत बिहारको सिवानमा एक धार्मिकस्थलमा धार्मिक अनुष्ठानमा सरिक भएको तस्विर सामाजिक सन्जालमा देखिएको छ ।
