सिरहामा 'ग्याङ' आतंक मच्याउने २५ युवक २१ मोटरसाइकलसहित पक्राउ

किङ अफ बलान, किङ अफ भगवानपुर, किङ अफ लहान, किलर्स ब्रदरलगायतका ग्याङका नाममा तिनले टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालमा अकाउन्ट र ग्रुप बनाई आतंकित पार्ने गरी गालीगलौज र धम्कीयुक्त भिडियो पोष्ट गर्दै आएको प्रहरीको आरोप छ ।

जेष्ठ १७, २०८३

विनय आजाद

25 youths arrested with 21 motorcycles for creating 'gang' terror in Siraha

What you should know

सिरहा — विभिन्न ग्रुप तथा ग्याङका नाममा समाजमा आतंक मच्चाउन खोज्ने २५ जनालाई २१ थान मोटरसाइकलसहित सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार सिरहा-चोहर्वा सडकमा विशेष अपरेसन चलाएर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनीहरूले किङ अफ बलान, किङ अफ भगवानपुर, किङ अफ लहान, किलर्स ब्रदरलगायतका ग्याङका नाममा टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालमा अकाउन्ट र ग्रुप बनाई आतंकित पार्ने, गालीगलौज र धम्कीयुक्त भिडियो पोष्ट गर्ने गर्दै आएका थिए ।

यस्तै, उनीहरूले बिना हेल्मेट र बिना नम्बर प्लेटका मोटरसाइकलसहित पनि भिडियो बनाउने गरेका थिए । उनीहरूले समाजमा शान्ति सुरक्षा भंग गर्ने खालको व्यवहार प्रदर्शन गर्दै आएको र आपराधिक कार्यमा समेत संलग्न हुन सक्ने आकलनसहित प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो ।

यसैक्रममा आइतबार एउटै मोटरसाइकलमा तीन-चार जनासम्म सवार भई ट्राफिक नियम उल्लंघन गर्दै सामूहिक रूपमा सिरहा सदरमुकामतिर जाने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

जसमा सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना र भगवानपुर गाउँपालिकाका ५ जना गरी २५ जना युवक तथा उनीहरू सवार भएर आएका २१ थान मोटरसाइकल रहेको डीएसपी पालले बताए ।

उनीहरूको मोबाइलसमेत नियन्त्रणमा लिई चेकजाँच तथा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरू अधिकांश लागूऔषध सेवनकर्ता रहेकोे र सुरक्षा व्यवस्थालाई चुनौती दिने कार्य गर्दै आएको पाइएको छ । 

प्रहरीले उनीहरूको नेतृत्व गर्ने अन्य व्यक्तिको पनि खोजी गरिरहेको छ । जिल्लामा सक्रिय यस्ता अन्य ग्याङ तथा समूहमाथि समेत निगरानी बढाइएको भन्दै प्रहरीले समाजमा आतंक मच्याउन खोज्ने यस्ता व्यक्तिबारे सूचना दिनसमेत जनसाधारणलाई आग्रह गरेको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully