वन क्षेत्रमा रहेको बस्ती हटाउन आएका वनका कर्मचारीलाई नियन्त्रणमा लिएर महोत्तरीको बर्दिबासमा स्थानीयहरुले सोमबार साँझदेखि राजमार्ग अवरुद्ध गरेका हुन् ।
महोत्तरी — महोत्तरीको बर्दिबासमा स्थानीयहरुले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले वन क्षेत्रमा रहेको बस्ती हाटाउन आएका वनका कर्मचारीलाई नियन्त्रणमा लिएर सोमबार साँझदेखि राजमार्ग अवरुद्ध गरेका हुन् ।
स्थानीयले राजमार्ग अवरुद्ध गरेपछि काठमाडौं जाने र काठमाडौंबाट आउने सवारी साधन तथा यात्रुहरु अलपत्र परेका छन् ।
महोत्तरीको बर्दिबासमा नियमित गस्तीबाट फर्किँदै गरेका वन गस्ती टोलीलाई स्थानीयले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिम्सिनाले बताए । बर्दिबास–काठमाडौं बीपी राजमार्ग अन्तर्गत कालापानीमा स्थानीयहरुले वन गस्ती टोलीलाई नियन्त्रणमा लिएर राजमार्ग अवरुद्ध गरेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय मिश्रले बताए ।
पानस होटल नजिक वनका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएर रागमार्ग अवरुद्ध गरेको मिश्रले बताए । साँझ हावाहुरी र भारी वर्षाका कारण समन्वयमा ढिलो भएको र राजमार्ग खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम सारुमगरले बताए ।
