कुटपिट घटनामा पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष सम्पर्कविहीन 

वडाध्यक्ष यादव मंगलबार वडा सदस्य सुमित्रादेवी खंगलाई निमित्त तोकेर सम्पर्कविहीन बनेका हुन् ।

जेष्ठ ९, २०८३

विद्यानन्द राम

Ward chairperson out of contact after arrest warrant issued in assault case

राजविराज — कुटपिट घटनामा आरोपित सप्तरीको राजगढ गाउँपालिका–२, का वडाध्यक्ष जितेन्द्रकुमार यादव पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका छन् । वडाध्यक्ष यादवसहित ५ जनाविरुद्ध गत सोमबार पक्राउ पुर्जी जारी भएको हो । 

वडाध्यक्ष यादव मंगलबार वडा सदस्य सुमित्रादेवी खंगलाई निमित्त तोकेर सम्पर्कविहीन बनेका हुन् । वडासचिव रामकुमार यादवले ४ दिनअघि वडाध्यक्षले खंगलाई निमित्त वडाध्यक्षको जिम्मेवारी तोकेको पुष्टि गरे ।

गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले ३ दिनअघि भेट भएका वडाध्यक्ष यादवसँग त्यसपछि कुराकानी नभएको बताए । उनले भने, ‘उहाँमाथि रहेको मुद्दाका विषय सामान्य जानकारी छ ।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले ती मुद्दामा अनुसन्धान भइरहेको बताए । 

२१ कार्तिक २०८१ मा सोही वडाको बनैनियाँस्थित सार्वजनिक जग्गामा वडाध्यक्ष यादवलगायतले घर बनाउन लाग्दा स्थानीय ललनकुमार सिंहलगायतले विरोध जनाएका थिए । आक्रोशित बनेका वडाध्यक्ष यादव, सोही ठाउँका शिवन खंग, टुनु खंग, पशुपति खंग र श्रीराम खंग मिलेर सिंहमाथि रड प्रहार गरेका थिए । कुटपिटबाट सिंहको हात भाँचिएको थियो । उनले कुटपिट गरी अंगभंग पारेको कसूरमा २५ कार्तिकमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । तर, प्रहरीले उनको जाहेरी लिन मानेनन् । 

सिंहले ९ माघ २०८१ मा जिल्ला सरकारी वकिल कार्यालयमार्फत प्रहरीमा जाहेरी पठाउँदासमेत प्रहरीले सनाखतसहितका कानुनी प्रक्रिया पूरा गर्न अनाकानी गर्दै आएको थियो । ५ चैत २०८१ मा उच्च अदालत जनकपुर, राजविराज इजलास पुगेका सिंहले परमादेश रिट दायर गरेका थिए । रिटमा सुनुवाइ हुँदा १४ जेठ २०८२ मा अदालतका न्यायाधीशद्वय पूर्णप्रसाद राजवंशी र कृष्णप्रसाद सुवेदीको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाममा न्याय प्रशासन ऐन, २०७३ को दफा ८(१) बमोजिम परमादेश जारी भएको थियो ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully