लहानमा मुसहर समुदायका २० सुकुमवासी परिवारले पाए पक्की घर

लहान नगरपालिका-१३ घलेटोलका २० सुकुमवासी मुसहर परिवारलाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत पक्की घर हस्तान्तरण गरिएको छ ।

जेष्ठ ८, २०८३

विनय आजाद

20 squatter families from Musahar community in Lahan get permanent houses

सिरहा — लहान नगरपालिका-१३ घलेटोल मुसहर बस्तीका २० परिवारलाई पक्की घर हस्तान्तरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार एक कार्यक्रमबीच ती परिवारलाई घर हस्तान्तरण गरेका हुन् ।

पक्की घर पाएकाहरू अति विपन्न मानिने मुसहर समुदायका सुकुमवासी हुन् । उनीहरू यसअघिदेखि फुसको घर बनाएर बस्दै आएको जग्गामै नगरपालिकाको विपन्नका लागि सुरक्षित आवास कार्यक्रमअन्तर्गत पक्की घर निर्माण गरिएको हो ।

यी पक्की घरहरूमा २ वटा बस्ने कोठा र एउटा भान्सा कोठा छन् । घरमाथि जस्ता हालिएको छ भने तल बाँसको प्रयोग गरी प्लास्टर गरिएको छ । नगरपालिकाको ६९ लाख ४ हजार ५ सय ९६ रुपैयाँ र हेविटेट फर ह्युम्यानिटी नेपालको १६ लाख ६६ हजार ६ सय ९६ रुपैयाँ लगानी तथा लाभग्राहीहरूको साढे २१ लाख रुपैयाँ बराबरको श्रमदान र भवानी एकीकृत विकास केन्द्रको प्राविधिक सहयोगमा घर तयार भएको नगरपालिकाले जनाएको छ ।

यी घरहरूको आयु ३० वर्षबढी हुने नगरप्रमुख चौधरीले जानकारी दिए । 'राज्य विपन्न नागरिकका लागि हुनुपर्छ, यही दायित्वबोध भएर हामीले दलित सुकुमवासीहरूलाई घर बनाइदिने गरेका हौं,' चौधरीले भने, 'यो केवल घर होइन, गरिबको आँगनमा राज्यको उपस्थिति हो ।' नगरप्रमुख चौधरीका अनुसार नगरपालिकामा हालसम्म वडा १५, १२, २२, २१ र १३ मा गरी झन्डै २ सय यस्ता घर निर्माण भएका छन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully