फेरियो मधेशको समीकरण : कांग्रेस सरकारमा एमाले भित्रिँदा जसपा र जनमत बाहिरिए

कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारले सत्ता सारथि दल जनमत र जनता समाजवादी पार्टी नेपाललाई गठबन्धनबाट बाहिर निकालेर २४ जना प्रदेश सांसद रहेको एमालेसँग गठजोड गरेको छ ।

जेष्ठ ७, २०८३

अजित तिवारी

The equation of Madhesh has changed: When UML entered the Congress government, JSP and Janmat were left out.

What you should know

जनकपुर — जनमत पार्टीले समर्थन फिर्ता लिएपछि संकटमा परेको कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारले विश्वासको मत लिनुअघि सत्ता सारथि दल फेरबदल गरेको छ । 

कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारले सत्ता सारथि दल जनमत र जनता समाजवादी पार्टी नेपाललाई गठबन्धनबाट बाहिर निकालेर २४ जना प्रदेश सांसद रहेको एमालेसँग गठजोड गरेको छ । एमालेका मोहम्मद समिरलाई बिहीबार राती नै बिना विभागीय मन्त्री नियुक्त गरिएको छ । यता, कांग्रेस नेतृत्वको सरकारमा रहेका जनमत पार्टीका दुई मन्त्री अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाजकल्याण मन्त्री वसन्त कुशवाहले बिहीबार अवेर साँझ राजिनामा गरेका छन् । 

कांग्रेस, एमाले र नेकपाबीच केन्द्रीय तहमै भएको सहमतिअनुसार मधेश प्रदेश सरकारमा पनि जनमत र जसपा नेपाललाई सत्ताबाहिर राखेर एमालेलाई सरकारको सारथि बनाइएको हो । जसपा नेपालको संसदीय दलको बिहीबार जनकपुरमा बसेको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरे पनि त्यो दललाई सत्ता गठबन्धनबाट हटाइएको छ । 

जसपा नेपालका मधेश प्रदेश सांसद उपेन्द्र महतोले आफ्नो दलले विश्वासको मत दिने निर्णय गरे पनि मधेश प्रदेश सरकारमा नयाँ सत्ता समीकरण देखिएकाले शुक्रबार विश्वासको मत दिने कि नदिनेबारे फेरि पुनर्विचार हुने बताए । ‘मधेश प्रदेशमा सत्ता समीकरण नयाँ बनेको जस्तो घटनाक्रमले देखाएको छ,’ जसपा नेपालका सांसद महतोले भने, ‘हामीले कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरिसक्यौं । तर, राती सारथि दल फेरिएका छन् । शुक्रबार फेरि छलफल हुनेछ ।’

मधेश प्रदेशका मुख्यमन्त्री यादवले एमालेका समिरलाई मन्त्री नियुक्त गरेपछि सत्ता सारथि दल जनमत र जसपा नेपाल संशकित बनेका हुन् । जसपा नेपालका तीन मन्त्रीलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले समिरलाई बिना विभागीय मन्त्री नियुक्त गरेका हुन् । मधेश सरकारमा भौतिक पूर्वाधार तथा विकास मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी र श्रम तथा यातायात मन्त्री मनीष सुमनलाई मुख्यमन्त्री यादवले हटाएका छन् । गुप्ता, तिवारी र सुमन जसपा नेपालबाट मन्त्री बनेका थिए । जसपा नेपालका तीनै जना मन्त्रीलाई मुख्यमन्त्री यादवले सत्ता समीकरण फेरबदल हुने भन्दै राजीनामा दिनका लागि भनेका थिए । राजीनामा नदिएपछि बर्खास्त गरेका हुन् । 

जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तय गरिएको छ । एमालेले समर्थन गरेपछि कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारसँग सुविधाजनक बहुमत रहेको छ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully