काज सरुवा हुँदा पनि जान मानेनन् सप्तरीका नापी प्रमुख

गत पुस २८ मा काजमा पुनः सप्तरी आउँदा यादवलाई कर्मचारीलगायतले करिब २० किलोको फूलको मालाले स्वागत गर्दा उनी आलोचित बनेका थिए ।

जेष्ठ ७, २०८३

विद्यानन्द राम

What you should know

राजविराज — नापी कार्यालय सप्तरीको प्रमुख भएर आउँदा २० किलोको फूलको मालाले स्वागत भएपछि आलोचित बनेका शत्रुघ्नप्रसाद यादवको काज सरुवा भइसक्दा पनि जान मानेका छैनन् । २० किलोको फूलको मालाले स्वागत गर्दा उनी आलोचित बनेका थिए । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले एक महिनाअघि नै उनको काज सरुवा गरिसकेको छ । तर, राजपत्राङ्कित द्वितीय क्षेणीका यादवले अझैसम्म रमानासमेत बुझेका छैनन् । 

नापी कार्यालय इनरुवा, सुनसरीमा दरबन्दी रहेका उनी ५ महिनाअघि काजमा पुनः नापी कार्यालय सप्तरी आएका थिए । त्यसअघि पनि यादव सप्तरीमै साढे ३ वर्षसम्म नापी प्रमुखको जिम्मेवारीमा थिए । त्यसबखत १९ कात्तिक २०७७ मा यहाँ आएका नापी प्रमुख यादवको २४ चैत २०८० मा सरुवा भएको थियो । 

गत पुस २८ मा काजमा पुनः सप्तरी आउँदा यादवलाई कर्मचारीलगायतले करिब २० किलोको फूलको मालाले स्वागत गर्दा उनी आलोचित बनेका थिए । हाल उनको ४ वैशाखमै काज सरुवा भइसकेको छ । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चलानी नम्बर १२२७ उल्लेखित पत्र पठाउँदै यादवलाई नापी विभागमा काज सरुवा गरेको हो । 

मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार निजामती सेवा ऐन, २०४९ को दफा १८ क (१) बमोजिम यादवलाई काजमा विभाग पठाएको हो । तर, ३५ दिन बित्न लाग्दा पनि उनी यहाँबाट जान चाहेका छैनन् । ती विषयमा प्रश्न गर्दा नापी प्रमुख यादवले भने, ‘मलाई मिडियासँग कुरा गर्नु छैन ।’ 

मन्त्रालयका सूचना अधिकारी उपसचिव राजेन्द्रप्रसाद गौतमले कर्मचारी सरुवाका विषयमा विभागलाई जानकारी हुनुपर्ने बताए । ‘यहाँको म बुझ्दैछु,’ उनले भने, ‘बरु थप जानकारी विभागमै होला, त्यतैबाट बुझ्नू त ।’ नापी विभागका सूचना अधिकारी दयानन्द जोशीले मन्त्रालयले यादवलाई काजमा खटाएको बताए । ‘हाम्रो रेकर्डमा नापी प्रमुख यादव सप्तरीमै हुनुहन्छ,’ उनले भने, ‘उहाँ (यादव) काजमा पठाएको ठाउँमा जानुभयो वा भएन भन्ने विषयमा मन्त्रालयले नै फलोअप गर्नुपर्ने हो ।’ मन्त्रालयमै त्यस विषयमा थप जानकारी हुनुपर्ने सूचना अधिकारी जोशीको भनाइ छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully