प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसूरमा मंगलबार पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि ३ दिन म्याद थप अनुमति लिएको हो ।
पर्सा — सोमबार राति वीरगन्जबाट पक्राउ परेका व्यवसायी दुर्गाप्रसाद प्रसाईंलाई अदालतबाट ३ दिनको म्याद थप गरिएको छ । प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसूरमा मंगलबार पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि ३ दिन म्याद थप अनुमति लिएको हो ।
प्रसाईंले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सन्जालबाट दिएको अभिव्यक्तिले सार्वजनिक शिष्टाचारविरुद्ध घृणा र द्वेष फैलाउने, जातीय तथा साम्प्रदायिक सद्भावमा असर पुर्याउने तथा सरकारप्रति अवहेलना सिर्जना गर्ने खालको रहेको प्रहरीको दाबी छ ।
पर्सा प्रहरी प्रवक्ता डीएसपि हरिबहादुर बस्नेतले भने, ‘प्रसाईंले सरकारको काम कारबाहीको सम्बन्धमा निराधार वा अप्रमाणित कुरा देखाई सरकारप्रति घृणा, द्वेष वा अवहेलना गर्ने गरी विभिन्न किसिमका अमर्यादित तथा अस्वस्थ्य आलोचनात्मक अभिव्यक्तिहरु दिएकाले नियन्त्रणमा लिएका हौं ।’
प्रसाईंलाई सोमबार राति ८ बजे वीरगन्जस्थित सिद्धार्थ दियालो होटलबाट जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।
प्रसाईंको रिहाईको माग गर्दै उनका समर्थकहरूले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सा आसपास क्षेत्रमा प्रदर्शन गरे ।
