बौधीमाईका मेयरमाथि कार्यालयमै बाेलाएर शिक्षक कुटपिटको आरोप

शिक्षक रामबाबुलाई दुर्व्यवहार र कुटपिट गर्नेहरुविरुद्ध कारबाही नभए चरणबद्ध आन्दोलन गर्ने शिक्षक संघ, संगठनहरूको चेतावनी छ । उनीहरूले जिल्ला प्रशासन कार्यालय रौतहटको ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

जेष्ठ ३, २०८३

शिव पुरी

Boudhimai mayor accused of beating teacher in office

What you should know

रौतहट — बौधीमाई नगरपालिकाका शिक्षा संयोजक रमेश यादवले २९ बैशाखमा फोन गरेर ‘प्रमुख प्रशासकीय अधिकृतले बोलाउनु भएको छ आउनुस्’ भनेपछि बौधीमाई–८ स्थित श्रीशंकर माध्यमिक विद्यालयमा शिक्षक रामबाबु यादव दिउँसो नगरपालिका कार्यालय पुग्छन् । फोन आएको ४५ मिनेटपछि उनी हतारिँदै नगरपालिका कार्यालय पुगेका थिए । 

यादव सिधै प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीको कार्यकक्षमा पुग्छन् र सोध्छन्- तपाईंले बोलाउनु भएको हो ? चौधरीले जवाफ दिन्छन्, ‘मैले होइन मेयर साहबले बोलाउनु भएको होला ।’ यसपछि शिक्षक रामबाबु मेयर प्रदिपकुमार यादवको कार्यकक्षतर्फ जान्छन् । ढोकामा उभिइरहेका सुरक्षागार्ड गजेन्द्र यादवले उनलाई भित्र लैजान्छन् । मेयरको कार्यकक्षमा वडाअध्यक्ष विन्देश्वर यादवलगायत ७–८ जना बसिरहेका थिए । उनलाई देख्नासाथै मेयर प्रदिपकुमारले सामाजिक सञ्जाल पोष्ट देखाउँदै (भदौ २३, २४ को जेन–जी आन्दोलन सामाजिक सञ्जालमा गरेको पोष्ट) सोध्छन्, ‘यो तपाईंले नै पोष्ट गर्नु भएको हो ?’ रामबाबु जवाफ दिन्छन्, ‘हो’ । 

शिक्षक रामबाबुले सामाजिक सञ्जालमा ‘म्यादी वडाअध्यक्ष र मेयरसाहबहरू अब तपाईं कुन पार्टीको मेयर र मुखिया छौँ । अलिकति पनि लाज छैन राजीनामा देउ’ भनेर पोष्ट गरेका थिए । रामबाबुले 'हाे' भन्ने जवाफ दिनासाथ मेयर प्रदिपकुमारले अन्धाधुन्दा कुटपिट र डोरी मगाएर घाटीमा पाँसो लगाउन लगाएको आरोप छ । 

शिक्षक रामबाबुमाथि कुटपिटको घटना सार्वजनिक भएसँगै घटनासँग जोडिएका ७ जनासँग हामीले कुराकानी गरेका छौं ।  

कुटपिटपछि मेयरको निर्देशनमा नगर प्रहरीको हिरासत कक्षमा आफूलाई ६ घण्टासम्म थुनेर राखेको शिक्षक रामबाबुले बताए । दिउँसो साढे २ बजेदेखि थुनेर औषधि समेत खान नदिइ राखेकाे उनको भनाइ छ । त्यहाँबाट निकालेर राति ९ बजे नगर प्रहरीले बंकुल प्रहरी चौकी लगेका थिए ।

प्रहरी चौकीका असई कुलानन्द यादवले मेयर प्रदिपकुमारले एकजना शिक्षक हाम्रो नियन्त्रणमा छ, बुझ्नु होला भनेर फोन गरेको जानकारी दिए । ‘रातिको समय, एउटा सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको र बुझाउन आएपछि हामीले बुझ्न मानेनौं,’ उनले भने, ‘मैले तत्कालै जिल्ला प्रहरी प्रमुख एसपी सा’बलाई जानकारी गराए । जिल्लाबाट नबुझ्न आदेश आयो । तर, घटाना के हो ? बुझ्नु भन्ने निर्देशनपछि शिक्षकलाई नगर प्रहरीले फिर्ता लगे ।’ चौकीबाट फिर्ता गरिएपछि शिक्षकलाई राति साढे ९ बजेतिर नगर प्रहरीले आफन्तको जिम्मा लगाएको थियो ।

भोलिपल्ट ३० बैशाखमा शिक्षक रामबाबु मेयरविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । यसअघि उनी कुटपिटबाट लागेको घाउ जाँच गराउन अस्पताल गएका थिए । दाहिने हातमा चोट लागेका कारण ब्यान्डेज गराएका थिए । जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक सीताराम रिजालसँग भेटेर घटनाबारे जानकारी गराए । ‘एसपी रिजालले कुटपिट भएको हो भने प्रमाणसहित आउनु भनेर पठाइदिए,’ उनले भने । मेयरले कुटेकै हो भने प्रमाण ल्याउनु पर्‍र्यो, त्यतिकै आरोप मात्र लगाएर भएन भन्दै फर्काइदिएको उनले बताए । 

‘म अहिले बोल्न सक्ने अवस्थामा छैन । नगरप्रमुख जस्तो व्यक्तिले ज्यानै लिनेसम्मको काम गरे,’ घटना बारे उनले भने, ‘जिल्ला प्रहरी प्रमुख एसपी समक्ष निवेदनसहित कारबाहीको माग लिएर जाँदा प्रमाण लिएर आउनुस् भनेर फर्काउनु भयो । म न्याय माग्न कहाँ जाउ ?’

मेयर प्रदिपकुमार भन्छन्– राजनीतिक रुपमा प्रेरित सस्तो नाटक

घटना बारे मेयर प्रदिपकुमार यादव भने राजनीतिक रुपमा प्रेरित ‘सस्तो नाटक’ मात्रै भएको बताउँछन् । उनले आफूमाथि लागेका सबै आरोप निराधार र कपोलकल्पित भएको बताए । शिक्षक रामबाबुमाथि कुनै किसिमको दुर्व्यवहार र कुटपिट नभएको उनकाे भनाइ छ ।‘शिक्षक जस्तो मानिसले सामाजिक सञ्जालमा मेयरलगायतका जनप्रतिनिधिहरूविरुद्ध जुन स्टाटस लेखेका छन् त्यो एकदमै खेदजनक छ,’ उनले भने, ‘कार्यपालिकाको बैठकमै बोलाएर शिक्षकलाई सोधेका हौँ । समान्य सवालजवाफ मात्र भएको हो । मैले कुनै किसिमको कुटपिट गरेको छैन् । यो सब शिक्षक रामबाबुको नाटक हो ।’ उनी घाइते भएको भन्ने आरोप समेत झुठो भएको दाबी गरे ।

शिक्षकहरू आन्दोलनको तयारीमा

मेयरमाथिका कारबाहीको माग राखी जिल्ला प्रहरी गौरमा दिएको निवेदन उपर कारबाही अघि नबढाएको भन्दै शिक्षकहरूले आन्दोलनको तयारी गरेका छन् । 

नगरप्रमुख जस्तो व्यक्तिले कार्यालयमै निर्घात कुटपिट गरी ज्यान मार्ने प्रयास गरेको भन्दै शिक्षक संगठनहरूले आन्दोलनको तयारी गरेका हुन् । घटनाको विरोधमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल शिक्षक संगठन र शिक्षक मञ्चका प्रतिनिधिहरूले शनिबार विज्ञप्ति निकाली मेयर यादव, ८ नम्बर वडाका वडाअध्यक्ष विन्देश्वर यादव र कार्यपालिका सदस्य सुनिल जैसवाललाई जेठ ५ गतेभित्र कानुनी दायरामा ल्याई हदैसम्मको कारबाहीको माग राखेका छन् ।

शिक्षक रामबाबुलाई दुर्व्यवहार र कुटपिट गर्नेहरूविरुद्ध कारबाही नभए चरणबद्ध आन्दोलन गर्ने शिक्षक संघ, संगठनहरूको चेतावनी छ । उनीहरूले जिल्ला प्रशासन कार्यालय रौतहटको ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् ।  

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully