शुक्रबार साँझ ६ बजेतिर इट्टाभट्टाबाट इट्टा निकाल्ने क्रममा पर्खाल ढल्दा कामदारहरू पुरिएका थिए ।
सर्लाही — सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा इट्टाको चाङ (पर्खाल) ढलेर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । शुक्रबार साँझ ६ बजेतिर इट्टाभट्टाबाट इट्टा निकाल्ने क्रममा पर्खाल ढल्दा कामदारहरू पुरिएका थिए ।
घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक शिव कटेलको कमाण्डको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी तत्काल प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।
उपचारका क्रममा गौडैता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताई मंसुर, गौडैता–९ कै ३५ वर्षीय शम्भु राउत र भारतको लखेमपुर निवासी अन्दाजी ३५ वर्षीय अंगद कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा मलंगवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन् । तुलसीको प्रादेशिक अस्पताल मलंगवा र सत्यनारायणको मजुर्वास्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । घटनास्थलमा जेसीबी प्रयोग गरी थप खोज तथा पन्छ्याउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
