हरिखेतान क्याम्पस प्रमुख रायमाथि कार्यालयमै दुर्व्यवहार

बिहीबार बिहान क्याम्पस प्रमुख रायलाई ५/६ जनाको समूहले लछारपछार गर्दै दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

वैशाख ३१, २०८३

शंकर आचार्य

Harikhetan Campus Principal Rai misbehaved in office

पर्सा — वीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख किशोरी रायमाथि बिहीबार क्याम्पस परिसरमै दुर्व्यवहार भएको छ । बिहीबार बिहान क्याम्पस पुगेका रायलाई ५/६ जनाको समूहले लछारपछार गर्दै दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

घटनापछि केही समय क्याम्पस क्षेत्रमा तनाव उत्पन्न भएको थियो । सामुदायिक क्याम्पस हरिखेतानमा सन्चालक समितिको हस्तक्षेप र निजीकरणको प्रयास भएको आरोप लगाउँदै विगत एक वर्षदेखि विवाद हुँदै आएको छ ।

पछिल्लो समय पुनः नियुक्त गरिएका क्याम्पस प्रमुख राय र सन्चालक समितिको मिलेमतोमा करारमा कार्यरत चार जना शिक्षकलाई सेवाबाट हटाउने निर्णय भएपछि विवाद थप चर्किएको हो । क्याम्पस प्रशासनले वैशाख २१ गतेदेखि लागू हुने गरी लालकिशोर प्रसाद पटेल, रविन्द्रकुमार यादव, पूजा गुप्ता र दिलिपकुमार पण्डितको करार सेवा अन्त्य गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको विरोधमा शिक्षक तथा कर्मचारीले क्याम्पसमा तालाबन्दी गर्नुका साथै धर्ना दिँदै आएका थिए ।

क्याम्पस प्रमुख रायले पटक–पटक ताला खोल्न आग्रह गरे पनि सहमति हुन नसक्दा विवाद झनै बढेको हो । सोही क्रममा बिहीबार उनीमाथि दुर्व्यवहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले घटनामा संलग्नता रहेको आरोपमा क्याम्पसकै दुई कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully