३० फुट चौडाइ र ४ किलोमिटर लम्बाइको यो सडक आगामी दुई वर्षभित्र निर्माण हुने गाउँपालिकाले जनाएको छ ।
सिरहा — जिल्लाको अर्नमा गाउँपालिकाले आफ्नै बजेटमा चार किलोमिटर कालोपत्र सडक निर्माण गर्ने भएको छ ।गाउँपालिकाले प्रशासकीय भवनदेखि गोतहा-कृष्णपुर-५ को कार्यालय हुँदै हुलाकी सडकसम्म कालोपत्र सडक निर्माण गर्न लागेको हो ।
३० फुट चौडाइ र ४ किलोमिटर लम्बाइको यो सडक आगामी दुई वर्षभित्र निर्माण हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यो सडक निर्माणका लागि वर्ल्डवाइड इन्द्रेणी जेभी निर्माण कम्पनीसँग भ्याटसहित १० करोड २५ लाख ३७ हजार २ सय ८६ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
गाउँपालिका अध्यक्ष अशोक यादवले बिहीबार शिलान्यास गर्दै सडक समयमै निर्माण हुने र यो सडक बनेपछि यस भेगका २० हजार बढी नागरिक लाभान्वित हुने बताए । 'हामीकहाँ योजना ठेक्का लाग्ने तर काम नहुने प्रवृत्ति छ,' उनले भने, 'तर, यो सडक हामी जसरी पनि समयमै बनाउँछौं ।'
