सिरहामा वडाध्यक्षलगायतले युवकलाई कुटपिट र अमानवीय व्यवहार गरेको घटनामा राष्ट्रिय मानवअधिकार आयोगले टोली पठाएर अनुसन्धान थालेको छ।
सिरहा — सिरहामा एक युवकलाई वडाध्यक्षलगायतले अमानवीय व्यवहार गरेको घटनामा राष्ट्रिय मानवअधिकार आयोगले चासो देखाएको छ । औरही गाउँपालिका–३ स्थित पिपरामामा गाउँमै आयोगको टोली पुगेर घटनाबारे जानकारी लिएको हो ।
औरही–३ का वडाध्यक्ष जीवछ यादवलगायतले गत सोमबार स्थानीय युवक वीरेन्द्र साहलाई कुटपिट र अमानवीय व्यवहार गर्दै रुखमा बाँधेर निजी जग्गामा बनाइएको विवादित सडक डोजर लगाएर खाली गराएका थिए ।
यस घटनामा वडाध्यक्ष यादवसहित स्थानीय हेमा यादव, रामबाबु यादव, मुकेश यादव, सुदीप यादव र बिसुन यादव गरी पाँच जनामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ । उनीहरूलाई पक्राउ गर्न प्रहरीले खोजी कार्य गरिरहेको छ ।
