सिरहामा युवकलाई रुखमा बाँध्ने वडाध्यक्षसहित ५ जनाविरुद्ध जाहेरी दर्ता

औरही गाउँपालिका-३ का स्थानीय वीरेन्द्र साहलाई सडक खाली गराउने नाममा रुखमा बाँधिएको घटनामा वडाध्यक्षसहित पाँच जनामाथि प्रहरीले जाहेरी दर्ता गरेको हो ।

वैशाख २९, २०८३

विनय आजाद

Complaint registered against 5 people including ward chair for tying youth to tree in Siraha

What you should know

सिरहा — सिरहामा एक युवकलाई अमानवीय व्यवहार गरेको घटनामा वडाध्यक्षसहित पाँच जनाविरुद्ध जाहेरी दर्ता भएको छ । औरही गाउँपालिका-३ का स्थानीय वीरेन्द्र साहलाई सडक खाली गराउने नाममा रुखमा बाँधिएको घटनामा वडाध्यक्षसहित पाँच जनामाथि प्रहरीले जाहेरी दर्ता गरेको हो ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार, यस घटनामा वडाध्यक्ष जीवछ यादव, स्थानीय हेमा यादव, रामबाबु यादव, मुकेश यादव, सुदिप यादव र बिसुन यादव गरी पाँच जनामाथि अभद्र व्यवहार सम्बन्धि कसुरमा जाहेरी दर्ता भएर अनुसन्धान अघि बढेको छ ।

'हामीले पीडितको जाहेरी दर्ता गरेका छौं, अब बाँकी प्रक्रिया पूरा गर्ने र पक्राउ अनुमति लिने काम हुँदैछ,' प्रहरी उपरीक्षक पाठकले भने, 'अनुसन्धानका क्रममा ज-जसको जस्तो भूमिका खुल्छ, त्यस हिसाबले उनीहरूमाथि कारबाही अघि बढ्छ ।'

औरही-३ स्थित पिपरा टोलमा एक वर्षअघि कृषि सडक निर्माण भएको थियो । त्यसक्रममा वीरेन्द्रको जग्गा एकतर्फी रूपमा लिइएको थियो । तर, विवादका कारण सडक प्रयोगमा भने आएन । वडाध्यक्षसहितको टोली डोजर लिएर सोमबार सोही सडक खाली गर्न गएका थिए ।

तर, वीरेन्द्रले विरोध गरेपछि वडाध्यक्ष यादवसहितले उनलाई कुटपिट र अमानवीय व्यवहारसहित रुखमा बाँधेर जबर्जस्ती निजी जग्गामा बनेका संरचना भत्काउँदै सडक खाली गराएका थिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully