स्थानीयलाई रूखमा बाँधेर वडाध्यक्षले खाली गराए निजी जग्गामा बनेको सडक

आफ्नो मात्रै जग्गा कब्जा गरेर सडक बनाइएको भन्दै विरोध गरेपछि आफूलाई वडाध्यक्षसहितले कुटपिट गर्दै रूखमा बाँधेर सडक खाली गराएको वीरेन्द्र साहले सुनाए ।

वैशाख २९, २०८३

विनय आजाद

Ward chairman ties locals to trees to clear road built on private land

What you should know

सिरहा — औरहीका एक वडाध्यक्षले स्थानीयलाई रूखमा बाँधेर सडक खाली गराएका छन् । औरही नगरपालिका–३ का वडाध्यक्ष जीवछ यादवले एक स्थानीयलाई रूखमा बाँधेर अमानवीय व्यवहार गर्दै सडक खाली गराएका हुन् ।

पिपरा टोलमा एक वर्षअघि कृषि सडक निर्माण भएको थियो । त्यसक्रममा स्थानीय वीरेन्द्र साहको जग्गा एकतर्फी रूपमा लिइएको थियो । तर, सडक प्रयोगमा भने आएन । वडाध्यक्षसहितको टोलीले डोजर लिएर सोमबार सोही सडक खाली गएको हो ।

आफ्नो मात्रै जग्गा कब्जा गरेर सडक बनाइएको भन्दै विरोध गरेपछि आफूलाई वडाध्यक्षसहितले कुटपिट गर्दै रूखमा बाँधेर सडक खाली गराएको वीरेन्द्रले सुनाए । 'म विकास नहोस् भनेर भनेको होइन, तर यहाँ विकासका नाममा लक्षित गरेर प्रतिशोधपूर्ण ढंगले अन्याय गरिएको छ, मैले समाधान चाहेको थिएँ,' उनले भने, 'तर, मैले विरोध गर्दा रूखमा बाँधियो ।'

सामाजिक सञ्जालमा आएको वीरेन्द्रलाई रूखमा बाँधिएको भिडियोमा वडाध्यक्ष यादवसहितका व्यक्ति देखिएका छन् । जसमा वडाध्यक्ष यादवले वीरेन्द्रलाई हप्काइरहेका देखिन्छन् । वडाध्यक्ष यादवले भने वीरेन्द्रले सडक अतिक्रमण गरेको र खाली गराउन जाँदा अवरोध गरेपछि स्थानीयले उनको हात बाँधेको बताए ।

‘त्यहाँ गत वर्ष नै कृषि सडक निर्माण गरिएको थियो, तर अतिक्रमण गरियो,' उनले भने, 'आज खाली गराउन जाँदा वीरेन्द्रले अवरोध गरे, त्यसपछि मान्छेहरूले उनलाई बाँधेका हुन् ।' भिडियोमा त तपाईं आफैं देखिनुहुन्छ नि ? भन्ने प्रश्नमा उनले भने, 'त्यो सबै गलत कुरा हो ।'

स्थानीय सन्तोष यादवले वडाध्यक्षको यो कदम अमानवीय भएको भन्दै वडाध्यक्षमाथि कारबाहीको माग गरेका छन् । 'जसरी निजी जग्गामा जबर्जस्ती बनाइएको सडक खाली गराउने नाममा मान्छेलाई रूखमा बाँध्ने काम भयो, यो निकै अमानवीय र क्रूर छ,' उनले भने, 'वडाध्यक्षमाथि कानुनी कारबाही हुनुपर्छ ।'

घटनाबारे भिडियो बाहिरिएपछि प्रहरीले यसबारे चासो लिएको छ । यो घटना आफूहरूको जानकारीमा आएको र यसबारे विस्तृत बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully